
काठमाडौं – भारतको बिहार राज्यमा एक व्यक्तिले ४० वर्षदेखि कपाल धोएका अनि काटेका छैनन् । उनको ६ फीट लामो जटा छ र यसलाई भगवानको आशीर्वाद मान्ने गरेका छन् ।
बिहारको मुंगेरमा बस्ने सकलदेव टुड्डुले आफ्नो जटा फेटा झैं गरी बाँध्ने गरेका छन् ।
४० वर्षअघि एक रात उनको कपाल आफैं जटामा परिणत भएको र यसलाई उनले भगवानको आशीर्वादका रूपमा लिएको बताए ।
भगवान् सपनामा आएर कपाल नकाट्न भएको अनि आफूले त्यो निर्देशन अहिलेसम्म पालन गरिरहेको उनी बताउँछन् ।
भगवानको भक्तिका लागि उनले रक्सी पिउन र चुरोट तान्न पनि छोडे ।
त्यसो त साधुहरूले पनि जटा पाल्छन् तर सकलदेवको कपाल एउटा ठूलो जटा बनेको छ । यसलाई सफा राख्न उनी सेतो कपडा बेरेर बाहिर निस्कन्छन् ।
उनले जटा बाँधेनन् भने कपाल जमीनमा लतारिन्छ ।
उनी साधु जस्तो देखिने अनि विनम्र स्वभावका भएका कारण छिमेकीहरू उनलाई महात्मा भनी बोलाउँछन् ।
उनी परम्परागत चिकित्सा पनि गर्छन् । निःसन्तान दम्पतीलाई उनी घरेलु उपचार गर्छन् ।
सकलदेवले वन विभागमा ३१ वर्ष काम गरेका छन् र उनी पत्नी रुपिया देवी, तीन छोरा, तीन छोरी र सात नातिनातिनासँग बस्छन् ।
उनकी पत्नीलाई उनको जटासँग कुनै समस्या छैन ।
एजेन्सी