०३ असार २०८३, बुधबार

पूर्व राजदूत झा हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान, किन पत्ता लागेन हत्यारा ?

साउन ३, २०७६
पूर्व राजदूत झा हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान, किन पत्ता लागेन हत्यारा ?

काठमाडौं – पूर्व राजदूत केशव झाको हत्या भएको झण्डै एक वर्ष बित्न लाग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्या भएको ११ महिना बितिसकेको छ, तर पनि उक्त ‘हाइप्रोफाइल हत्याकाण्ड’ को रहस्य सुल्झिन नसकेको हो ।

२०७५ भदौ ४ गते आफ्नै घरमा बसिरहेको अवस्थामा पूर्व राजदूत झाको हत्या भएको थियो । ८० वर्षीय झाको बन्द कोठामा पुगी छुरी रोपेर हत्या भएको थियो । प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सुरक्षा गार्ड ४८ वर्षीय कान्छाराज तामाङ, माली ५३ वर्षीयआइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

यस हत्याकाण्डको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुर समेत असफल भएको स्रोतको दाबी छ । 

कुकुर असफल भएकै हो त ?

घटना भएलगत्तै प्रहरीले अनुसन्धानमा ‘जर्मन सेफर्ड म्याक्स’ कुकुर प्रयोग गरेको थियो । 

कुकुरले घरभित्रै हत्या भएको तर्फ संकेत गरेपछि माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पोलियोग्राफदेखि नार्को (औषधिले लठ्ठ पारेर प्रश्न सोध्ने विधि) बाट अनुसन्धान गर्‍यो, तर उनीहरूले ‘क्लिन चिट’ पाए ।

कुकुरले पनि सबै ‘क्राइम सीन’मा हत्यारा पत्ता लगाउन नसक्ने पूर्व एआईजी जयबहादुर चन्द बताउँछन् ।

‘सबै अपराधमा कुकुरले हत्यारा पत्ता लगाउँछ भन्ने छैन । कुकुरले पत्ता लगाउनका लागि क्राइम सीनका लागि निश्चित सीमा क्षेत्र हुन्छन्,’ पूर्व एआईजी चन्दले भने ।

‘कुकुरले सुँघेर पत्ता लगाउने हो । पानीले ‘क्राइम सीन’ रुझेको अवस्थामा, ‘क्राइम सीन’मा कुकुर प्रयोग गर्न ढिला भएको अवस्थामा पनि पत्ता लागाउन गाह्रो हुुन्छ,’ उनले थपे, ‘केशव झाको ‘क्राइम सीन’ त्यस्तो अवस्थामा थिएन तर पनि पत्ता लगाउन सकेन । प्रहरीले अनुसन्धान गर्दै होला । आशा गरौं अपराधी पत्ता लगाउला ।’

के भन्छ प्रहरी ?

‘कतिपय अवस्थामा अपराधी पत्ता लगाउन समय लाग्ने हुन्छ । हामीले नेपालमा भएका सबै प्रविधिको प्रयोग गरेका छौं, चाहे त्यो ‘म्यानुअल्ली’ अथवा ‘अटोमेटिकल्ली’ किन नहोस् । प्रविधिको पनि प्रयोग गरेका छौं,’ पूर्व राजदूत झाको हत्याबारे अनुसन्धान गरिरहेका काठमाडौं परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले लोकान्तरसँग भने ।

उनले थपे, ‘कतिपय हत्या अलि सम्वेदनशील हुन्छन् । तिनलाई पत्ता लगाउन समय लाग्छ । हामी सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छौं, छिट्टै हत्यारा पत्ता लगाएर सार्वजनिक गछौं,’ डीएसपी बोगटीले भने ।

के छ अवस्था ?

२०७५ भदौ ४ गते केशव झाको हत्या भएपछि प्रहरीले सेक्युरिटी गार्ड कान्छाराज तामाङ, माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङमाथि आशंका गर्दै पोलियोग्राफ र नार्को समेत गर्‍यो, तर उनीहरूले ती परीक्षणमा क्लिन पाए ।

सेक्युरिटी गार्ड कान्छाराज तामाङलाई ललितपुरको पाटन अस्पतालमा लगी नार्को विधिबाट सोधपुछ गरिएको थियो ।

छोरी राजश्री नेपाल बाहिर हुनु र छोरा बुहारीलाई बिदाइ गरेको २४ घण्टा बित्न नपाउँदै झाको हत्या हुनु संयोग मात्र हो या नियोजित भन्ने विषयलाई जोडेर पनि प्रहरीले अनुसन्धान गर्‍यो, तर परिवारभित्रै गरिएको अनुसन्धानले समेत कुनै निकास दिन सकेन ।

परराष्ट्र सेवामा ३४ वर्ष व्यतित गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपाली राजदूत थिए । 

उमेरले ८० पुगिसकेको भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा सक्रिय थिए ।

salt training

कमेन्ट गर्नुहोस्