
बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
‘सरकारको आलोपालो,पार्टी नेतृत्व आलोपालो,सबै तहका संरचनामा पनि सहमति हुने गरी तत्कालीन एमाले र तत्कालीन एकीकृत माओवादीका केन्द्रीय नेताबिच पाँच बुँदे सहमति भएकै हो । सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन । सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ,’ नेता पौडेलले बुटवलमा रिपोर्टर्स क्लa प्रदेश ५ मा आयोजित साक्षात्कारमा भने । पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभइसकेको दोहोर्याए ।
सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड,विधेयक ल्याउने फिर्ता गर्ने,गुठी विधेयकका सवाल, विषादी प्रकरणमा सरकार परिपक्व नदेखिएको उनको भनाइ छ ।
‘सुशासनका विषयमा सरकार कमजोर भएको हो, दुखको कुरा यस्ता कुरा आउनुहुन्थेन तर काम र प्रक्रिया भने आरम्भ भएको छ,’ उनले भने ।
उनले गुठी विधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे । नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दाबी गरे ।
पौडेलले विषादी प्रकरणमा प्रधानमन्त्रीले माफी मागेको र मन्त्रालयको सचिवको समस्याले सरकारलाइ अप्ठ्यारो पारेको बताए । सरकारले गतिविधि गरिरहेको तर देखिनेगरी रिजल्ट नआएको उनको भनाइ छ ।
‘अब दुई ठाउँमा प्रभावकारी काम गर्नुपर्छ । एउटा पार्टीले प्रभावकारी रूपमा काम गर्ने र अर्को चाहिँ सरकारबाट जनताका भावनाहरू सम्बोधन हुनेगरी । त्यसका लागि हामीले अहिले मन्त्रालयबाट भइरहेका काम कारवाही फेर्नुपर्छ । सरकार गतिशील बनाउन मन्त्री पनि फेर्नुपर्छ,’ उनले भने ।
फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने तयारी भइरहेको बताए ।