
काठमाडौं – जापानको सत्तारूढ गठबन्धनले देशको माथिल्लो सदनमा आफ्नो पकड कायम राखेको छ । तर संविधान संशोधन गर्नका लागि सहज हुने दुईतिहाइ बहुमत चाहिँ उसले प्राप्त गर्न सकेन ।
आइतवार सम्पन्न निर्वाचनको परिणाम सोमवार सार्वजनिक गरिएको हो । निर्वाचन परिणामले प्रधानमन्त्री शिन्जो आबे सन् २०१९ को अन्त्यसम्ममा देशमा सबभन्दा बढी समय कार्यकाल चलाउने प्रधानमन्त्री बन्ने बाटोमा रहेको देखाएको छ । उनले आगामी अक्टोबर महिनामा गर्न लागेको करवृद्धिका लागि मतादेश पनि यसैबाट प्राप्त गरेका छन् ।
उनले दुईतिहाइ बहुमत पाएको भए देशको शान्तिवादी संविधान संशोधन गर्ने पुरानो लक्ष्य हासिल गर्ने थिए ।
तर आबेले गठबन्धन गरेका दलहरूले उनको संविधान संशोधन योजनाप्रति सहजता नदेखाएकाले दुईतिहाइ बहुमत ल्याएको भए पनि कुनै परिवर्तन आउने सम्भावना गाह्रो थियो ।
आबेको लिबरल डेमोक्रेटिक पार्टी र उसको गठबन्धन सहयोगी कोमीतोले माथिल्लो सदनको उपलब्ध १२४ सीटमध्ये ७१ सीट जित्यो ।
सबै सीटमा चुनावी प्रतिस्पर्धा भएको हैन र यी दुई दलले पहिले नै ७० सीटमा नियन्त्रण कायम गरिसकेका छन् ।
एजेन्सी