३० जेठ २०८३, शनिबार
प्राकृतिक विपद्

पहिरोले गुल्मीमा ६ जनाको मृत्यु, ५ बेपत्ता

साउन ७, २०७६
पहिरोले गुल्मीमा ६ जनाको मृत्यु, ५ बेपत्ता
प्रतिकात्मक तस्वीर

बुटवल – सोमवार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा ५ जना हराइरहेका छन् । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घाका स्थानीय छविकला विक, धनबहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठगप्रसाद ज्ञवालीले जानकारी दिए ।

पहिरोमा अन्य ५ जना हराइरहेको बताइएको छ । राति घरमा सुतिरहेको अवस्था पहिरोले ३ घर बगाएर करीब ५० मिटर तल पुर्‍याएको छ । पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले वताए ।

गाउँपालिका–३ मा पनि पहिरो जाँदा स्थानीय ३० वर्षीया तिलकुमारी तरामु र उनका १० वर्षीय छोरा दर्शन तरामुको मृत्यु भएको ढकालले बताए । अविरल वर्षा भइरहेको र ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध हुँदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन घलेको नेतृत्वमा प्रहरी टोली गएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोलीसँगै स्थानीयहरू खटिएको र उपचारका लागि स्वास्थ्यको टोली पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्