२० असार २०८३, शनिबार

पुएर्तो रिकोमा भ्रष्टाचारको विरोध गर्दै विशाल प्रदर्शन

पुएर्तो रिकोमा भ्रष्टाचारको विरोध गर्दै विशाल प्रदर्शन

काठमाडौं – पुएर्तो रिकोमा हजारौं विरोधकर्ताहरूले सोमवार विशाल प्रदर्शन गरेका छन् । उनीहरूले गभर्नरको राजीनामा माग्दै आक्रोशित भएर प्रदर्शन गरेका हुन् । 

सन् २०१७ मा आएको मारिया आँधीका पीडितका लागि छुट्ट्याइएको रकममा भ्रष्टाचार गरिएको भन्दै पुएर्तो रिकोवासीहरू विरोधमा ओर्लिएका हुन् ।

गभर्नर रिकार्डो रोसेलो र अन्य अधिकारीले च्याटमा पत्रकार, समलिंगीहरू, महिला तथा आँधीपीडित लगायतलाई मजाक उडाउँदै लेखेको सन्देश सार्वजनिक भएपछि पनि पुएर्तो रिकोवासीहरू चिन्तित बनेका हुन् ।

राजधानी सान हुआनमा भएको विरोध प्रदर्शनमा देशका प्रसिद्ध गायक रिकी मार्टिन समेत सहभागी बने । विशाल भीडमा मानिसहरूले गीत गाउने, नारा लगाउने अनि सडकमा नाच्ने काम गरेका थिए । शान्तिपूर्ण विरोध प्रदर्शनमा धेरैले पुएर्तो रिकोको झण्डा समेत बोकेका थिए । 

गभर्नर रोसेलोमाथि दबाब बढेर गएपछि आइतवार उनले अर्को वर्ष हुने चुनावमा भाग नलिने र आफ्नो दलको नेता पदमा नबस्ने बताएका थिए । तर गभर्नर पदबाट राजीनामा नदिने उनको अडान छ ।

रोसेलोले फेसबूकमा एक भिडियो पोस्ट गरेर आफूले गल्ती गरेको र माफी मागेको बताए । 

तर उनको माफीले पनि विरोधकर्ताहरूको आक्रोश मत्थर पारेन । उनीहरू विगत १० दिनदेखि उनको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । 

पुएर्तो रिको अमेरिकाको अधीनमा रहेको भूमि हो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रोसेलो खराब गभर्नर भएको बताउँदै आँधीका पीडितलाई दिइएको राहत रकम अक्षम र अत्यन्तै भ्रष्ट मानिसको हातमा परेको बयान दिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्