२१ असार २०८३, आइतबार

गाडी चल्न थालेपछि हरायो डोलीको संस्कार

गाडी चल्न थालेपछि हरायो डोलीको संस्कार

रुकुमपूर्व- एकदशक अघिसम्म रुकुम (पूर्व) का गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोली चढाएर भित्र्याउने चलन अहिले देख्न पाइँदैन । त्यतिबेला हरेक टोलमा एउटा डोली हुनेगरेकामा  अहिले जिल्लाभर खोजे पनि भेटिँदैन । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्नेसमेत थाहा पाएका छैनन् । 

विसं ०६५ मा सिस्ने गाउँपालिका–५ की रीता बस्नेतले विवाहका बेला बेहुला पक्षले आफूलाई लिन रातो कपडाले सजाएको डोली ल्याएर आएको बिर्सिएकी छैनन् । अहिले डोली बोकेर हिँड्दै गरेका जन्ती भेट्न मुस्किल छ । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् । सोही गाउँपालिका–८ स्यालापाखाकी बिमला योगीको ०५५ सालमा र वडा नं ६ की नम्रता मगरको पनि ०६० मा बिहे हुँदा उनीहरू डोली चढेरै आएका थिए । सिस्ने–५ की कमला परियारको बिहे हुँदा पनि उहाँलाई जन्ती पक्षले रङ्गीचङ्गी बनाएर साजाइएको डोलीमा हाली ल्याएकोे सम्झँदा रमाइलो मान्छिन् । आफ्नो बिहेको रमाइलो पल सुनाउँदै कमलाले भनिन्, 'त्यसबेला बेहुलीलाई जन्तीले डोलीमै बोकेर ल्याउने चलन थियो ।' 

स्थानीयवासी आफैंले काठको डोली बनाउँथे । डोली प्रयोग गरेबापत जन्तीलाई निश्चित रकम दिने चलन थियो । त्यसबाट आम्दानी पनि राम्रै हुन्थ्यो । डोली प्रयोग हुन छोडेपछि केहीको आम्दानी पनि सुकेको स्थानीयवासी रामबहादुर बुढाथोकीले बताए । डोली कसैले एक पटक भाडामा लिएबापत तीन हजार रुपैयाँसम्म दिने गरेको उनले उल्लेख गरे । 

हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । पहिले–पहिले घोडाको प्रयोग पनि बढी नै थियो । अहिले बिहेमा घोडाको प्रयोग पनि शून्य भएको सोही गाउँपालिका–४ की सानु बुढाले बताए ।

गाउँघरको परम्परागत कला र संस्कृति पनि लोप हुँदै गएको सोही गाउँपालिका–५ का मोहन शाहीले बताए । आफ्नो संस्कृति, रीतिरिवाज जोगाउन ध्यान नदिँदा थुप्रै परम्परा मासिँदै गएको छ भन्दै उनले सवारी साधनहरू गाउँघरमा पुगे पनि आफ्नो पहिचान लोप हुनु राम्रो नभएको बताए । गाडीमा सहज भए पनि डोली चढाएर दुलही अन्माउनु बेग्लै मिठास हुने शाहीको भनाइ थियो । 

मगर बाहुल्यता रहेको रुकुम (पूर्व)मा फरक भाषा, भेषभूषा, चालचलन, रीतिरिवाज भएका बासिन्दाको  बसोबास छ । कतिपय संस्कृतिहरूलाई पश्चिमेली संस्कृतिले फेरबदल गरिदिएको छ । अहिलेका बिहे, व्रतबन्ध, र अन्य चाडपर्वहरुलाई आधुनिकताले परिवर्तन गरिसकेको छ । 

स्थानीय सरकारले संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको उक्त गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । उनले भने, मौलिक कला संस्कृतिले जिल्लाको पहिचान झल्काउने गर्दछ ।' मौलिकता बोकेका कतिपय परम्परा जोगाउनै पर्छ भन्ने मान्यताले गाउँपालिका अघि बढेको छ,' उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्