
हाइटी- हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमवार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रूपमा सोमवार नियुक्त गरेको जनाइएको छ ।
यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजीनामा दिएपछि सोमवार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएकाे हाे ।
लापिनले रानीनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरूका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उहाँलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ– राष्ट्रपति मोसेले ट्वीटमा लेखेका छन् ।
उनको मनोनयनलाई सांसदहरूले अनुमोदन गर्नुपर्नेछ । राष्ट्रपति मोसेले सो ट्वीटमा भनेका छन्, 'मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु ।'
निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ । उनी गत मार्च महिनामा मात्र नियुक्त भएका थिए ।
सोमवार नियुक्त हुनुभएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रूपमा काम गरेका थिए । उनी हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि हुन् । उनलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ । यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन् ।