
पोखरा – पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ ।
नेपाल फुलकन्ट्याक्ट कराँते महासंघको आयोजनामा हुने प्रतियोगितामा १५ संघका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष दमन बस्नेतले बताए ।
प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासंघमा आवद्ध सबै संघका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद १ लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बस्नेतले बताए ।
डोजो, संघ, क्लब, खेलाडी तथा प्रशिक्षकको हकहित संरक्षण तथा राष्ट्रियस्तरका खेलाडी तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले विक्रम संवत् २०६१ मा महसंघको गठन भएको बताइन्छ ।
प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने
पोखरा रंगशालामा आगामी भदौ १३ र १४ गते दोस्रो गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता गरिने भएको छ ।
नेपाल क्योकुसिन कान कराँते संघ कास्कीको आयोजनामा हुने प्रतियोगितामा क्योकुसिन बुदोकाई कराँते संघमा आवद्ध महिला तथा पुरुष गरेर २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४० केजी, ४५ केजी मुनि तौल समूह र खुला तौल समूहमा प्रतिपस्र्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले बताए ।
स्थानीयस्तरबाट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने र प्रतियोगिता सञ्चालन गर्न ५ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।