काठमाडौं- नेपालमा अझै महिला रक्तदाताको संख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन नसकेको हो ।
रक्तसञ्चार सेवा केन्द्रले आव २०७५/७६ मा ५५ हजार ९५३ युनिट रगत संकलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । संकलित कूल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो ।
केन्द्रकी प्रमुख डा. मनिता राजकर्णिकार रक्तदानबारे महिलाको बुझाइमा सुधार हुँदै गएको बताउँछिन् ।
'सचेतनाका कार्यक्रम थप विस्तार गर्नुपर्छ,' उनको सुझाव छ । देशभर संकलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको संख्या १६ प्रतिशत पुगेको छ । नेपालभर दुई लाख ७१ हजार ९२२ युनिट रगत संकलन गरी तीन लाख ४५ हजार १५१ रक्ततत्व वितरण भएको थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र हाल ७३ जिल्लाका १०८ स्थानमा छ ।
संकलित रगतमा एचआईभी, हेपाटाइटिस बी, सी र सिफलिस जीवाणु भेटिनेक्रम घट्दो रहेको केन्द्रले जनाएको छ । गत वर्ष संकलित रगतमध्ये एचआइभी ११३, हेपाटाइटिस बी ७००, सी ४२४ र सिफलिस १२२० जीवाणु भेटिएको थियो ।