
बाँके – जिल्लाको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरू भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको हो ।
३ वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दासमेत ५ प्रतिशत मात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जीनियर होमनाथ भुसालले बताए ।
३ हजार कैदीबन्दी अट्ने क्षमताको निर्माणाधीन कारागारको विक्रम संवत् २०७३ कात्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार २८१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनको पेश्की रकम फिर्ता लिएपनि ठेक्का सम्झौता भने तोडिएको छैन । ‘नयाँ आयोजना सम्पन्न गर्न सरकारले १ वर्ष थपको नीति ल्याएपछि निर्माण कम्पनीलाई १५ दिने सूचना प्रकाशित गरिसकेका छौं,’ भुुसालले भने, ‘शुरूमा पप्पु र रसुवाले संयुक्तरूपमा शुरूआत गरे । अहिले रसुवाले एक्लै काम शुरूआत गर्न लिखितपत्र दिएको छ ।’
तर पप्पुले काम गर्न नदिएको भुसालले बताए । भुसालका अनुसार उनीहरूबाट लिखित प्रतिबद्धता भयो भने काम शुरू गर्न पाउनेछन् ।