
काठमाडौं – झापाकी सुनिता (नाम परिर्वन) ले भर्खर–भर्खरै फेसबूक चलाउन थालेकी थिइन् । १२ कक्षा अध्ययन सकेर बसेकी १८ वर्षीया सुनितालाई फेसबूकमा नयाँ साथीको ‘फ्रेन्ड रिक्वेस्ट’ आइरहन्थे ।
कलेजका साथीभाइ, आफन्त लगायत प्रायः चिनेकाबाट नै उनलाई फ्रेन्ड रिक्वेस्ट आउँथ्यो र सबैलाई कन्फर्म पनि गर्थिन् । नयाँ–नयाँ फेसबूक आईडी भएकाले साथीहरूको फ्रेन्ड रिक्वेस्ट आउँदा उनलाई खुशी लाग्ने गरेको थियो ।
२०७५ चैत ३ गते सुनितालाई ‘नतालिया ज्याक’ नामबाट फेसबूकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । उनले प्रोफाइल हेरिन्, केटीकै फोटो वालमा भएकाले उनले ‘कन्फर्म’ गरिन् ।
त्यसपछि ‘हाइ’ भनेर म्यासेन्जरमा कुराकानी गर्न अनुरोध आयो, उनले ‘हेलो’ भन्दै प्रतिउत्तर गरिन् । यसरी उनीहरूबीच कुराकानी चलिरह्यो । २–३ महिनाको कुराकानीका क्रममा १ दिन नतालियाले सुनितालाई फोटो पठाउन अनुरोध गरिन् । राम्रै कुराकानी भइरहने भएकाले उनलाई फोटो पठाउन आपत्ति लागेन र पठाइदिइन् ।
केही दिनको अन्तरालपछि उनलाई म्यासेन्जरबाट एउटा फोटो आयो, तब सुनिता छागाँबाट खसेजस्तै भइन् । ती ‘नतालिया’ फेसबूक आईडी प्रयोगकर्ताले उनको टाउकोमा नाङ्गो फोटो जोडेर पठाइन् ।
त्यसपछि सुनितालाई नतालियाले ‘तिम्रो नाङ्गो भिडियो पठाऊ, होइन भने यो फोटो तिम्रा आफन्तलाई पठाइदिन्छु’ भन्दै धम्की दिन थालिन् । सुनिता फसादमा परिन्, दबाबमा आएर उनले नाङ्गो भिडियो समेत पठाइन् ।
पठाइएको भिडियोलाई इडिट गरी अश्लिल बनाएर ‘नतालिया’ले धम्की दिँदै आएको उजुरी साइबर अपराध अनुसन्धान ब्यूरोमा पुग्यो ।
ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द्र अर्यालले भने, ‘सामाजिक सञ्जालमा अपलोड गरिदिन्छु, आफन्तलाई पठाइदिन्छु भन्दै धम्की दिँदै आएका रहेछन् ।’ यतिबेलासम्म नतालियाले सुनिताका ३ जना साथी र घरपरिवारका सदस्यलाई पनि फेसबूकमा साथी बनाइसकेकी रहिछन् ।
ती अपरिचितले अस्मी १९६, सुस्मिता तामाङ र अञ्जली कँडेलको नाममा ‘फेक’ आईडी बनाएर सुनिताका अन्य ३ जना साथीलाई पनि भिडियो पठाइसकेको ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीन ताम्राकारले लोकान्तरलाई बताए ।
‘नतालिया भन्ने आईडीले उनको अस्लिल भिडियो पोर्न साइड एक्स भिडियो डटकम र एक्सएनएक्सएक्स डटकममा समेत अपलोड गरिसकेका रहेछन्,’ उनले भने, ‘सुनिताले गत जेठ ३ गते प्रहरीमा उजुरी दिएपछि सबै कुरा खुल्न आयो । त्यसपछि हामीले यसको अनुसन्धान थालेका हौं ।’
अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा ‘नतालिया ज्याक’ आईडी प्रयोगकर्ता केटी नभएको र कुनै बंगलादेशी केटाले फेक आईडी बनाएर साइबर अपराध गरेको खुल्न आएको ताम्राकारले बताए । ‘ती व्यक्तिले नतालिया भन्ने फेसबूक आईडी बंगालदेशबाट चलाउँदै आएका रहेछन् र उनले अमेरिकाको प्रोक्सी सर्भर चलाउँदै आएका रहेछन्,’ ताम्राकारले भने ।
अभियुक्तले बंगलादेशबाट आपराधिक गतिविधि गरेको देखिन आएको हुँदा ब्यूरोको क्षेत्राधिकार बाहिर देखिएकाले इन्टरपोलसँगको समन्वयमा कानूनको दायरामा ल्याउने कार्य अगाडि बढाइएको साइबर अपराध अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकास श्रेष्ठले बताए । ‘सिधै बंगलादेशमा गरेर अपराधीलाई समाउने कानून छैन । इन्टपोटसँग समन्वयमा हामीले काम गर्ने हो त्यसको प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।
दैनिक ४ देखि ८ वटा उजुरी
केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो ४ देखि ८ वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६.८ प्रतिशत बढी अपराध फेसबूकमा भएको देखिएको छ ।
स्थापना भएको ३ महिनामा ब्यूरोमा फेसबूकका २ सय ४२ वटा, यूट्युबका ३ वटा, इन्स्ट्राग्रामका २ वटा, इमोका २ वटा, वेबसाइडमा २ वटा, ट्विटरका १ वटा र अन्यका १ वटा गरी २ सय ५३ उजुरी परेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले लोकान्तरलाई बताए ।
कति भए सामाजिक सञ्जालमार्फत अपराध ?
पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरीसमक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूक भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५र०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएका अपराध अनुुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।