२४ असार २०८३, बुधबार

हङकङमा अस्थिरता सह्य नहुने चिनियाँ सेनाको भनाइ

हङकङमा अस्थिरता सह्य नहुने चिनियाँ सेनाको भनाइ

काठमाडौं – हङकङमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा चिनियाँ सेनाका प्रमुखले पहिलोपटक बयान दिएका छन् । विरोध प्रदर्शनले ल्याएको अस्थिरताका कारण मानिसहरूको जीवन र सुरक्षालाई गम्भीर जोखिममा पारेको र यसलाई सहन नसकिने उनले बताए । 

हङकङमा रहेको पीपुल्स लिबरेसन आर्मी (पीएलए)को ग्यारिसनका कमान्डर चेन दाहोशियाङले बुधवार पीएलएको ९२औं वर्षगाँठका उपलक्ष्यमा आयोजित कार्यक्रममा यो कुरा बताएका हुन् । पीएलए ‘राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा, स्थिरता र हङकङको समृद्धि रक्षा गर्न दृढप्रतिज्ञ रहेको’ बताएका छन् ।

हङकङमा ४३ जना विरोधकर्तालाई दंगा गरेको आरोप लगाएर धरौटीमा रिहा गरिएको छ । १६ वर्ष उमेरकालाई पनि आरोप लगाइएको छ । 

पीएलए प्रमुखले हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई दह्रो समर्थन पनि दिएका छन् । हङकङ प्रहरीले कानूनलाई दृढतापूर्वक लागू गरेको भन्दै उसलाई पनि प्रमुखले समर्थन गरेका छन् । 

हङकङका पहिलो प्रमुख कार्यकारी तङ ची–ह्वाले अमेरिका र ताइवानको निर्देशनमा विरोध प्रदर्शन भइरहेको आरोप लगाएलगत्तै कमान्डरको भनाइ सार्वजनिक भएको हो ।

पीएलए प्रमुख र तङले बेइजिङको भनाइ दोहोर्‍याएका हुन् । विरोध प्रदर्शन चलिरहँदा बेइजिङले विदेशी शक्तिहरूको हस्तक्षेप भइरहेको अनि विरोध हिंसात्मक हुँदै गइरहेको भनी निन्दा गर्ने गरेको छ । 

पीएलए प्रमुखको भनाइले विरोधमा चिनियाँ सेनाको हस्तक्षेप बढ्ने हो कि भन्ने डर बढाएको छ । गत साता चिनियाँ रक्षा मन्त्रालयका एक अधिकारीले सामाजिक व्यवस्था कायम गर्न हङकङ सरकारले सहायता मागेमा बेइजिङले वैध रूपमा हस्तक्षेप गर्न सक्ने बताएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्