
सुर्खेत - पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका कांग्रेस र कम्युनिस्ट कार्यकर्ताहरूले पार्टी परित्याग गरेर स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेका छन् । गुर्भाकोटको वडा नम्बर ११ मा रहेका ३२ घरधुरीका १ सय १४ जनाले आफू आबद्ध रहेको पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।
नेपाली काङ्ग्रेसबाट ४० जना, सत्तारूढ नेकपाबाट ४२ जना र अन्य पार्टीमा आबद्ध रहेका ३२ जनाले सामूहिक हस्ताक्षर गरी पार्टी परित्याग गरे । बिहीवार आफैले हस्ताक्षर गरेको आफ्नो निर्णयको प्रतिलिपी सबैले आ–आफ्ना पार्टी कार्यालयमा बुझाएका छन् ।
सन्यास लिनुको कारण - कुलोमा राजनीति
अनेरास्ववियुकी पूर्व विद्यार्थी नेतृ तथा युवा संघ सुर्खेतकी सदस्य गौरी वलीले दलहरूले राजनीति गरेकै कारण आँपसोती कुलोको विषयमा लामो समय विवाद बल्झेको बताइन् । स्थानीयको हीतमा भएपनि उक्त कुलोमा कांग्रेस र नेकपाका स्थानीय नेताहरूले हस्तक्षेप गरी विवाद निम्त्याएको पार्टीबाट सन्यास लिनेहरूको बुझाइ रहेको छ ।
‘विकास निर्माणमा पनि चरमा राजनीतिकरण गर्ने कार्य भयो,' वलीले लोकान्तरसँग भनिन्, ‘जनताका आवश्यकता पूरा गर्ने भनेर लागेका राजनीतिक नेतृत्वका कारण नै समाज अनिर्णयको बन्दी भएकाले हामीले यो निर्णय लिएका हौं ।’
२०५२ देखी गाउँलेले सिँचाई गर्दै आइरहेको कुलोमा तीव्र राजनीतिकरण गरिएको उनको आरोप छ । ‘समस्या समाधानका लागि हामीलाई कसैले कांग्रेस बन्न दबाब दिए, कसैले कम्युनिस्ट बन्न दबाब दिए,' उनले भनिन्, ‘प्रदेश सरकारले कुलोमा १० लाख बजेट दिएपछि यस्तो अवस्था आयो ।’
कुलोमा आएको १० लाखलाई भागवण्डा गरेर दलका नेता-कार्यकर्ताहरूले खान खोजेको आरोप स्थानीयले लगाएका छन् । सामान्य कुलोमा राजनीति गरेर स्थानीयलाई आजित पारेका कारण सामूहिक राजिनामा दिन बाध्य भएको वलीले बताइन् ।
‘हामीले पार्टी परित्याग गरेको हस्ताक्षरसहितको राजिनामा पत्र दलको कार्यालयमा बुझाइसकेका छौं,' उनले भनिन्, ‘अब हामी दलका नेतासँग एकल वार्तामा बस्ने छैनौं । सामूहिक मात्रै वार्तामा बस्ने छौं ।’