
काठमाडौं – १ सातायता निष्क्रिय रहेको मनसुन अब सक्रिय हुने भएको छ ।
मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरू भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो ।
मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निष्क्रिय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।
‘तत्काल निरन्तर र भारी वर्षाको सम्भावना नरहेपनि धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने गतिविधि विकास भइरहेको छ,’ बिहीवार साँझ उनले भने ।
न्यूनचापीय रेखा भारतको गंगानगर, अलाहवाद, कलकत्ता, बंगालको खाडीको शिर आसपासको भेगमा सरेको अवस्थालाई मौसमविद्हरू सामान्य अवस्थाका रुपमा बुझ्ने गर्छन् ।
काल्पनिक यस्तो रेखा ती क्षेत्रबाट भारतको उत्तरी दिशातर्फ सरेपछि नेपाली भू–भागमा मनसुनी प्रभाव पर्ने गर्छ भने ‘इन्डोग्याङगेटिक प्लेन’ भन्दा तल सरेको अवस्थामा मनसुन निष्क्रिय हुने गर्छ । मनसुनी रेखा नेपाल नजिक सरेपछि नेपालमा भारी वर्षा हुने गरेको प्रधानाङ्गले प्रस्ट्याए ।
गंगा र यसका सहायक नदी एवं जलाधार क्षेत्रलाई समेट्ने भेगलाई मौसमविद्हरु ‘इन्डोग्याङगेटिक प्लेन’ का रुपमा बुझ्ने गर्छन् । भोलि शनिवारपछि मनसुन ट्रफ नेपालको तराईका भू–भाग नजिक सर्ने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।