०४ असार २०८३, बिहीबार

बालविवाहको असर : १६ वर्षमै काखमा एउटा छोरा, गर्भमा अर्काे बच्चा

साउन १७, २०७६
बालविवाहको असर : १६ वर्षमै काखमा एउटा छोरा, गर्भमा अर्काे बच्चा
प्रतिकात्मक तस्वीर

जनकपुरधाम – चन्दनिया देवी सदा १६ वर्षकी भइन् । उनको विवाह ३ वर्षअघि भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा ।

शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई डेढ वर्षे छोरो सम्हाल्न गाह्रो छ । गर्भको बच्चा ७ महिना पुगिसकेको छ ।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ – चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी लजाउँछिन् मात्र ।

महोत्तरी मनरा सिसवा नगरपालिका–१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ । बिहे भएको १–२ वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन् । सन्तान पनि कुपोषित छन् ।

सोमित्रादेवी सदाले २ वर्षअघि बुहारी भित्र्याइन् । छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो । बुहारी इन्दिरा १२ वर्षकी थिइन् । इन्दिराले छोरी जन्माइसकेकी छन् । सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु) ।’

मुसहर टोलमा अधिकांशको बिहे उमेर नपुग्दै हुन्छ । ‘छौरा छौरी जुवान भगेल त वियाह कदेली उमेरसे कथि होईहै (केटाकेटी जवान भएपछि बिहे गरिदिने हो । उमेरले के हुन्छ ?’ टोलकी वृद्धा सन्तोलियादेवी सदाले भनिन्, ‘हाम्रो बेलामा त झन् बच्चैमा बिहे हुन्थ्यो ।’

सानैमा बिहे गर्ने परिपाटी र परिवार नियोजनको साधनमा पहुँच नहुँदा अधिकांश महिला धेरै बच्चा पाउन बाध्य छन् । यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा नियमित जाँच गराउने चलन पनि छैन । त्यतिबेला पोषणयुक्त खानेकुरा खान नपाएका अधिकांश महिलालाई रोगले च्यापेको छ। उनीहरूलाई सुत्केरी हुन स्वास्थ्य चौकी जानुपर्छ भन्ने चेतना छैन ।

मुसहर समुदाय छोराछोरीलाई पढाउनुको साटो मजदुरीमा लगाउन रुचाउँछन् । यसले गर्दा शैक्षिक अवस्था पनि दयनीय रहेको छ । प्रदेश २ सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाऊ अभियान मुसहर टोलवासी अनभिज्ञ छन् ।

छोरी जन्मिँदा प्रदेश सरकारले १ लाख रुपैयाँको निःशुल्क बिमा गरिदिने प्रावधानबारे पनि उनीहरू जानकार छैनन् । ‘टोलबाट चुनाव जितेका नेताहरूले यस्ता विषयमा कहिल्यै जानकारी गराउँदैनन्,’ टोलका श्रीचन माझीले भने, ‘हामीलाई प्रदेश सरकारले कहाँ के गर्दैछ केही थाहा छैन ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्