काठमाडौं – हङकङमा विरोध प्रदर्शन लगातार तेस्रो दिनमा पुग्दा विरोधकर्ताहरू दंगा प्रहरीसँग भिडेका छन् ।
प्रहरीले शनिवारको दंगामा संलग्न २० जनालाई पक्राउ गरिएको जानकारी आइतवार दिएको छ । उनीहरूका व्रिद्ध गैरकानूनी रूपमा भेला भएको र आक्रमण गरेको आरोप लगाइएको छ ।
शनिवार बेलुका प्रहरीले विरोधकर्ताहरूमाथि अश्रूग्यास र खुर्सानीको धूलोले आक्रमण गरेको छ भने उनीहरूलाई भुइँमा लडाएर थिचेको पनि छ । त्यसअघि शहरमा शान्तिपूर्ण जुलुस निस्केको थियो ।
मोङ कोकमा सरकारविरोधी जुलुसमा भाग लिएका हजारौं विरोधकर्ताहरू अनुमति लिइएको बाटोबाट अन्तै गएर काउलूनका मुख्य सडक कब्जा गर्न पुगेका थिए । त्यहाँ उनीहरूले ट्राफिक ब्यारियर भत्काएर ब्यारिकेड बनाए अनि ग्यास मास्क र हेल्मेट बाँडेर प्रहरीसँग भिडन्त गर्न तम्सिए ।
प्रहरीले एक वक्तव्य जारी गरेर विरोधकर्ताहरूले प्रहरी चौकीमा इँटा प्रहार गरेको र चौकीबाहिरका वस्तुमा आगो लगाएको जनायो । मोङ कोकमा प्रहरी चौकी बाहिर प्रहरीले प्रदर्शनकारीहरूलाई भुइँमा लडाएर थिचेको थियो । केही प्रदर्शनकारीहरूको रगत बगेको देखिएको थियो ।
द गार्डियनबाट