
काठमाडौं–नेपाल उद्योग परिसंघले तेस्रो नेपाल पूर्वाधार सम्मेलनको तयारी द्रुतगतिमा अघि बढेको जानकारी गराएको छ ।
नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९को तयारी द्रुतगतिमा अघि बढेको जानकारी गराएको हो ।
परिसंघले नेपाल सरकार, लगानीबोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय लगायतको सहकार्यमा ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’को मूलभाव सहित आयोजना गर्न लागेको हो ।
सो सम्मेलन सरकारले गतवर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने समेत परिसंघले जानकारी दिएको छ ।
लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकार सहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको परिसंघको भनाई छ ।
यसअघि दुईवटा पनि पूर्वाधार सम्मेलन सम्पन्न भइसकेका छन् । ती दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा पूर्वधारको लागि आवश्यक लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नुपर्ने औंल्याएको थियो ।
सोही अनुसार अध्ययन पुरा भई प्रतिवेदन तयार भएको र तेस्रो पूर्वाधार सम्मेलनमा प्रतिवेदन सार्वजनिक हुने आयोजनकले जानकारी दिएको छ ।
सम्मेलनको तयारी बारे जानकारी गराउन आइतवार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्ने बताए । त्यस्तै नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा तय गरेर पूर्वाधार विकास केन्द्र राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी बढाउन हौसला मिलेको बताए ।