१३ असार २०८३, शनिबार

वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन - कहीं रंगेहात फन्दामा, कहीं भागाभाग

वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन - कहीं रंगेहात फन्दामा, कहीं भागाभाग

काठमाडौँ - वैदेशिक रोजगार विभागले नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीहरुमाथिको कारबाही तीव्र पारेको छ।

विदाको दिनमा समेत अवैधानिक तरिकाले कामदार छनौट गर्ने तथा झुठो सूचना फैलाई वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुलाई अन्तर्वार्ताको लागि बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक अनुगमन प्रारम्भ गरेको विभागले आज ललिपुरस्थित प्याराडाइज इन्टरनेशनल प्रालिमा आकस्मिक अनुगमन गरी कामदारबाट तोकिएको भन्दा १२ गुणा बढी सेवा शुल्क लिइरहेको अवस्थामा रङ्गेहात फेला पारेको हो ।

विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले वैदेशिक रोजगारीका लागि उक्त प्रालिबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ्ग कुमार गुरुङ्ग सुमन सार्की र गङ्गा परियारलाई बुझाउन लगाइएको रकममध्ये कुमार गुरुङ्ग र देवेन्द्र गुरुङ्गबाट बुझ्दै गरेको क्रमशः १ लाख १५ हजार  र १ लाख १० हजार रकम जफत गरेको थियो ।

गङ्गा परियारले रकम बुझाउन आइएमइबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई १ लाख ३० हजार रकम बुझाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

सञ्चालकलाई कागज गराई कामदारहरुलाई आजै वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन र गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा गराएको छ भने विभागमा वयानका लागि समेत पत्र काटेको छ।

आइतवारै विभागले सोही प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ताको गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो तर टोली त्यहाँ पुग्नु अगावै शाखा कार्यालयका कर्मचारीहरु शाखा बन्द गरेर बाहिर निस्किसकेका थिए ।

त्यसै गरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको भुसालले बताए । बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक एक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको थियो । टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ।

salt training

कमेन्ट गर्नुहोस्