
काठमाडौं – आगामी मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र योग्य मतदाता हुने छन् ।
निर्वाचन आयोगको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदहरूमा मंसिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ ।
उपनिर्वाचन प्रयोजनका लागि आयोगले उपनिर्वाचनको मिति तोकिएको दिन (साउन १६ गते) सम्ममा नाम दर्ता भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदातालाई उमेर १८ वर्ष पूरा भएको मिति तोकेको छ ।
आयोगको साउन १७ गतेको बैठकबाट उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई अर्को निर्णय नभएसम्मका लागि साउन १७ गतेदेखि रोकिएको छ ।
साउन १६ गतेसम्म संकलन भएका मतदाताको विवरण अद्यावधिक गरी उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहसचिव एवं प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।