
बनेपा – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१० जनागालमा आइतवार छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
रोशी गाउँपालिका–८ गिम्दीबेंसीमा काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना६२प ७३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खस्दा धादिङ सल्यानटार–३ घर भई हाल कालिसिद्धि गण बर्दिवासमा कार्यरत अमल्दार ३५ वर्षीय भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, साँगाबाट बनेपातर्फ जाँदै गरेको बा९९प ३३९७ नम्बरको स्कुटर सोही दिशाबाट गइरहेको बा६ख ७३१५ नम्बरको ट्रकसँग ठोक्किँदा स्कुटर चालक रोशी गाउँपालिका–७ कटुञ्जेका २६ वर्षीय आशाकाजी वाईबाको मुत्यु भएको छ ।