
काठमाडौं – अवरुद्ध संसद सुचारु गर्ने विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि सोमवार बिहान ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक २ घण्टा पर सारिएको छ ।
दलहरूबीच सहमतिको प्रयास जारी रहेको भन्दै सूचना टाँसेर बैठक १ बजेसम्मका लागि सारिएको छ ।
यसअघि गत बिहीवार दिउँसो बस्ने भनिएको बैठक सूचनामार्फत नै सोमवारसम्मको लागि सारिएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु तथा बालकको मृत्युको विरोध गरिरहेका स्थानीयमाथि प्रहरी दमनका क्रममा स्थानीय सरोजकुमार सिंहको मृत्यु सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आइरहेका छन् । अपवादको रुपमा साउन ८ गते जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल भएपनि कांग्रेस र राजपाको विरोधका कारण संसदको बैठक असार २४ गतेदेखि अवरुद्ध हुँदै आएको छ ।
संसदीय छानबिन समिति गठनको विषयमा अहिले सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका नेताबीच संसद भवनमै छलफल चलिरहेको छ । छलफल सकिएपछि सर्वदलीय बैठक बस्ने सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए ।