३० जेठ २०८३, शनिबार

करीब ३५ हजार बेचिए, १५ लाख बेचबिखनको जोखिममा

साउन २१, २०७६
करीब ३५ हजार बेचिए, १५ लाख बेचबिखनको जोखिममा

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करीब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ ।

‘मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो,’ बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै सोमबार आयोग अध्यक्ष अनुपराज शर्माले भने, ‘मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो । यसलाई निर्मूल पार्न सबैको प्रयास हुनुपर्छ ।’

प्रतिवेदनअनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन् । जसमा महिला १५ हजार र ५ हजार बालबालिका छन् ।

कान्तिपुर दैनिक लेख्छ – नेपालमा १५ लाख व्यक्ति बेचबिखनको जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । यो कुल जनसंख्याको ६ प्रतिशत हो । यसमा १३ देखि १९ वर्षका ग्रामीण किशोरी १२ लाख, वयस्क मनोरञ्जन व्यवसायमा २१ हजार, वैदेशिक रोजगारीको तयारीमा रहेकाहरू १ लाख ८० हजार र बालश्रमिक १ लाख छन् । ७७ जिल्लामध्ये डोल्पा र मुगुबाहेक सबै जिल्लामा कुनै न कुनै बेचबिखनको जोखिममा छन् ।

‘हरेक वर्ष मानव बेचबिखनमा परेका करीब १ हजार व्यक्तिको उद्धार भइरहेको पाइन्छ । यद्यपि यसले मानव बेचबिखनको समग्र तस्बिर दिँदैन,’ आयोगकी आयुक्त मोहना अन्सारीले भनिन्, ‘केवल यौन बजार र बाध्यकारी श्रमका लागि मात्र नेपालबाट भारतमा मानव बेचबिखन भएको छैन । तेस्रो राष्ट्रमा बेचबिखन गर्न मार्ग प्रयोजनका लागि पनि भइरहेको छ ।’

प्रतिवेदनमा १३ हजार ६ सय ७८ व्यक्ति हराएको उल्लेख छ । यसमा बालक ८ सय ५, बालिका १७ सय ६२, पुरुष ११ सय ५५, महिला ४९ सय ८३, दलित १३ सय ३७ जना, दलित २१ सय ९६ र मधेसी/मुस्लिम ११ सय ८७ जना छन् । हराएकामध्ये ७ हजार १ सय ८७ जना मात्रै भेटिएको उल्लेख छ, जसमा बालक ५ सय ६५, बालिका १२ सय २६, पुरुष ६ सय ४५, महिला २७ सय ६५, दलित ७ सय ३६, जनजाति ११ सय ७ र मधेसी/मुस्लिम ७ सय ८४जना छन् ।

आयोगले मानब बेचबिखन नियन्त्रणका लागि आन्तरिक प्रणालीमा कडाइ गरे पनि नयाँ मार्ग खुल्न थालेको जनाएको छ । ‘विगतमा नेपालबाट भारत हुँदै हुने बेचबिखन हुने गरेको थियो । हाल भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड र इन्डोनेसियाका मार्ग प्रयोगमा आएका छन्,’ अन्सारीले भनिन्, ‘दलाल तथा यसमा संलग्न व्यक्तिले पीडित सम्पर्क माध्यमका रूपमा आधुनिक प्रविधि, सामाजिक सञ्जालको प्रयोग, इमो, वी च्याट जस्ता माध्यमलाई प्रयोगगरेका छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्