३० असार २०८३, मंगलबार

पोखरीमा भेटियो दुई शव

पोखरीमा भेटियो दुई शव

लमजुङ – बेसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

मर्स्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो ।

सोमबार स्थानीयवासीले उक्त पोखरीमा एक जनाको शव देखेपछि प्रहरी र स्थानीयवासी सहयोगमा  उक्त शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।

रुकेशलाई  भने आज बिहान करीब ११ बजेतिर स्थानीयवासीले सोही पोखरीको पानी घटाएर खोज्ने क्रममा भेटिएको मृतकका भाउजू नाताकी कुमारी विकले बताइन् ।

मृतक विकास करीब चार महीनादेखि  गाउँशहरस्थित मामाघरमा बस्दै आएको र दुवै  घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएको मृतकका आफन्तको भनाइ थियो । 

खुदी जाने भनेर हिँडेका दुवैकोे  शव भेटिएपछि  कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन् ।

प्रहरी निरीक्षक पाण्डेले भने, 'उनीहरू घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने' बताए ।

सोमबार भेटिएको विकको शवपरीक्षण लागि बेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्