काठमाडौं, १५ चैत — अमेरिकाको जर्जिया राज्यमा एक दम्पतीले आफ्नी छोरीको थर अल्लाह राख्न खोजेका थिए । तर उनीहरूलाई यसो गर्न नदिइएपछि दम्पतीले यसविरुद्ध मुद्दा हालेका छन् ।

जनस्वास्थ्य विभागले एलिजाबेथ ह्यान्डी र बिलाल वाककी २२ महिनाकी छोरीको जन्म प्रमाणपत्र जारी गर्न मानेन किनकि छोरीको थरमा अल्लाह राखिएको थियो ।
दम्पतीले आफ्नी छोरीको आधिकारिक नाम भर्ने ठाउँ खाली छोड्न स्वीकार नगर्ने बताएका छन् ।
अधिकारीहरूले भने जैलीखा ग्रेसफुल लार्निया अल्लाहमा आमाबुवाको ह्यान्डी वा वाक थर नपरेको र यीमध्येको मिश्रित रूप हुनुपर्ने बताएका छन् ।
अल्लाह अरबी भाषाको शब्द हो र यो भगवान् जनाउन प्रयोग गरिन्छ ।
जर्जियाको नागरिक अधिकार संगठन दी अमेरिकी सिभिल लिबर्टी युनियनले दम्पतीका तर्फबाट फुल्टन काउन्टी सुपिरियर कोर्टमा मुद्दा दायर गरेका छन् ।
बच्चीका पिताले एटलान्टा जर्नल कन्स्टिट्युसन पत्रिकालाई बताएअनुसार उनी छोरीलाई अल्लाह नामले पुकार्छन् किनकि यो श्रेष्ठ नाम हो ।
बीबीसी हिन्दीबाट