२१ जेठ २०८३, बिहीबार

नेकपाको प्रतिवेदनले भ्रष्ट भनेपछि कांग्रेसको जवाफ– 'विनम्र ढंगले दया व्यक्त गर्छौं'

नेकपाको प्रतिवेदनले भ्रष्ट भनेपछि कांग्रेसको जवाफ– 'विनम्र ढंगले दया व्यक्त गर्छौं'

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनले नेपाली कांग्रेसले भ्रष्टहरूको संरक्षण गरेको आरोप लगाएपछि कांग्रेसले यस दृष्टिकोणमा दया बाहेक केही जनाउन नसकिने बताएको छ । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको प्रतिवेदनले नेपाली कांग्रेसलाई दुश्मन मानेकोप्रति टिप्पणी गर्दै यसलाई नेकपाको दृष्टिदोष भनी टिप्पणी गरेका हुन् ।

'नेपाली कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरणबारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने नै छ,' प्रवक्ता शर्माले भने, 'अहिलेलाई केबल यति टिप्पणी छ कि त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।'

शर्माले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशिता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वर्द्धन लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको बताए । 

'बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरूलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डोर्‍याउने प्रयत्न गरी आएको छ,' उनले भने, 'यो मान्यताले प्रतिस्पर्धी शक्तिहरूलाई पनि सदैव मित्रशक्तिका रुपमा सद् व्यवहार गर्दै आएको छ ।' 

उनले यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामर्थ्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुने बताए ।

शर्माले ‘निजामति सेवाको गठन, सञ्चालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ मा आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समूहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत रहेको जिकिर गरे ।

'ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ तर तिनलाई घुमाउरो ढंगले प्रतिबन्धित नै गर्ने नियतसँग सम्झौता गर्न सकिन्न,' उनले भने, 'नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहनेछ ।' 

शर्माले नैतिकतालाई थप लज्जित नबनाउन सत्तारूढ नेकपालाई आग्रह गरे । 

'सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुःखित् तुल्याएको छ,' उनले भने, 'सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरूका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ ।' 

सरकारी जग्गामा आफ्नो कार्यालय राख्ने गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने आशा शर्माको छ । 
नेकपाको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसले भ्रष्टहरूको संरक्षण गरेको उल्लेख गरिएको छ ।

यही साउन १ गते प्रकाशन गरिएको नेकपाको राजनीतिक प्रतिवेदनले कांग्रेसले सामन्तवादविरोधी पूँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाएपनि दलाल प्रवृत्तिका कारण सफल नभएको आरोप कांग्रेसमाथि लगाएको छ ।

हेर्नुहोस्, यो पनि :

कांग्रेसको खेदो खन्दै नेकपाको प्रतिवेदन : चीनको प्रशंसा, अमेरिका र भारत गायब !

salt training

कमेन्ट गर्नुहोस्