०२ असार २०८३, मंगलबार

बाँकेको पसलमा मध्यराति आगलागी, ठूलो विनाश टर्‍यो

बाँकेको पसलमा मध्यराति आगलागी, ठूलो विनाश टर्‍यो
प्रतिकात्मक तस्वीर

बाँके – नेपालगञ्ज–सुर्खेत रोडको गुरुद्वारा अगाडि रहेका पसलमा बिहीवार मध्यरातमा आगलागी भएको छ ।

गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरू भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो ।

प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका २,  कोहलपुरको १ र नेपालगञ्ज विमानस्थलमा रहेको १ गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । ‘फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो,’ प्रत्यक्षदर्शी चन्दले भने । ४ दमकलसहित प्रहरीले करीब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट करीब ७ देखि १० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ तर क्षतिको यकिन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

‘दर्जन बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौं,’ प्रहरी उपरीक्षक वलीले भने ।

फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोल पम्पमा आगलागी हुनबाट भने जोगाइएको छ । ‘पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो,’ प्रहरी उपरीक्षक वलीले भने, ‘पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौं ।’

यसअघि मंगलवार नेपालगञ्ज–२ घरबारीटोलमा रहेका २ कपडा पसलमा आगजनी हुँदा करीब २ करोड बढीको क्षति भएको छ । आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

बडिमालिकाबाट शुरू भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । आगलागीपछि दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्