०८ असार २०८३, सोमबार

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग दिने निर्णय

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग दिने निर्णय
प्रतिकात्मक तस्वीर

भोजपुर – जिल्लामा पहिरोमा ज्यान गुमाएका परिवारले प्रतिमृतक १ लाख रुपैयाँ पाउने भएका छन् ।

बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रतिमृतक १ लाख दिने निर्णय गरेको हो ।

असार २६ गतेबाट परेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका मृतक ५ जनाका परिवारलाई १/१ लाख उपलब्ध गराउने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश नम्बर १ सरकारले मृतकका लागि उपलब्ध गराउने २ लाख र घाइतेका लागि उपलब्ध गराउने औषधि उपचार खर्चका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

पहिरोमा परी भोजपुरमा ५ जनाको ज्यान गएको थियो । वर्षापछिको पहिरोमा रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीय कुमार राईकी ३५ वर्षीया पत्नी मनकुमारी राई, १७ वर्षीय छोरा शिवकुमार राई १५ वर्षीय छोरा शक्तिकुमार राई र सोही गाउँपालिका–७ बासिखखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क ओइराङका १४ वर्षीय बालक जनक विकको ज्यान गएको थियो ।

बैठकले वर्षाका कारण बाढीपहिरोबाट भएको क्षति एवं विस्थापित परिवारको यथार्थ विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा उपलब्ध गराउन सबै स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ भने जिल्लाभर १०० परिवार विस्थापित भएको प्रारम्भिक विवरण रहेको जानकारी गराएको छ ।

विस्थापितको विवरण प्राप्त गरी निश्चित कार्ययोजनासहित पुनःस्थापनको व्यवस्था गर्न स्थानीय विपद् व्यवस्थापन समिति र आवश्यक सहयोगका लागि प्रदेश विपद् व्यवस्थापनमा अनुरोध गर्ने निर्णयसमेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्