
काठमाडौं – गोंगबुका रामहरी (नाम परिवर्तन) गत साता राति १० बजेसम्म गौशालामा बस्नुपर्यो । उनी काम सकिएपछि चाबहिल हुँदै गोंगबुतिर लागे ।
चाबहिलबाट गोपीकृष्ण फिल्म हलतर्फ लाग्दै गर्दा ओरालोमा ५/६ जना महिला तथा पुरुषजस्ता देखिने मानिसले बाटो छेके ।
शुरूमा त उनी अलमलमा परे । शुरूमा त लिफ्ट माग्ने हुन् कि जस्तो लाग्यो तर उनीहरूले भने, ‘जाने हो ? जाने भए मिलाउँछौं ?’
उनी अचम्ममा परे, डरले असिन–पसिन भए । ‘कहाँ जाने ? होइन के कुरा गरेको ?’ उनी अलमल परे तिनीहरूले उनीमाथि हातपात नै गर्न थाले । उनी मोटरसाइकल चलाएर भागे ।
झापाका कृष्ण (नाम परिर्वन) वैदेशिक रोजगारीमा जाने क्रममा काठमाडौं आएका थिए । काठमाडौंमा भएका साथीभाइसँग बागबजारमा रमाइलो गरेपछि राति १० बजे रानीपोखरी रत्नपार्क हुँदै सुन्धारा होटलतिर जाँदै थिए ।
रत्नपार्कको अन्डरपासको छेवैमा वरपर गरिरहेका केही महिलाले कृष्णलाई बोलाउँदै भने, ‘ए दाइ जाने ? १५ सय हो दाइ १५ सय !’ कृष्ण केही समय त कसलाई भनेको होला भनेर अचम्ममा परे । ‘दाइ तपाईंलाई हो ?’ ती महिलाले स्पष्ट पार्न खोजिन् । उनलाई के बोल्ने के नबोल्ने ठम्याउनै गाह्रो भयो । उनी फटाफट अगाडि बढे ।
गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा २८ जनालाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा अनैतिक क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।
नयाँ बसपार्क, चाबहिल, ठमेलको सञ्चय कोष क्षेत्र, रत्नपार्क क्षेत्र लगायतका क्षेत्रमा यस्ता क्रियाकलाप गर्ने महिला तथा पुरुष सक्रिय रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
‘चाबहिल, नयाँ बसपार्क, ठमेल, कोटेश्वर क्षेत्रमा अनैतिक क्रियाकलाप गर्नेहरू सक्रिय भएको देखिन्छ । उनीहरूलाई नियन्त्रण तथा यस्ता क्रियाकलापबाट निरुत्साहित गर्न प्रहरी लागेको छ,’ उनले भने ।
पहिले सामाजिक अपराध अन्तर्गत मुद्दा चलाउने गरिन्थ्यो अहिले भने अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने गरेको एसएसपी ज्ञवालीले बताए ।
अनैतिक क्रियाकलाप गर्ने कसैलाई पनि छोड्दैनौं : सुवेदी
अनैतिक क्रियाकलाप गर्ने तथा सामाजिक सहिष्णुतामा खलल पुर्याउने कसैलाई पनि कानूनले नछोड्ने महानगरीय परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।
अनैतिक क्रियाकलापमा लाग्ने र यस्ता कार्य गर्न उत्साहित गर्ने काठामाडौंैंका खाजाघर र सम्भावित क्षेत्रलाई लक्षित गरी प्रहरी परिचालन गरेको एसएसपी सुवेदीले बताए ।
‘काठमाडौैंका विभिन्न खाजाघर, रेस्टुराँ लगायतका क्षेत्रमा हामीले निगरानी बढाएका छौं र यस्ता क्षेत्रबाट पक्राउ परेका पनि छन्,’ एसएसपी सुवेदीले लोकान्तरलाई भने ।
पछिल्लो समय नेपाल प्रहरीले अनैतिक क्रियाकलाप हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ ।
काठमाडौं उपत्यकामा झण्डै ४५ सय पक्राउ
आर्थिक वर्ष २०७५/०७६ मा काठमाडौं, ललितपुर र भक्तपुरमा ४ हजार ४ सय ७२ जना पक्राउ परेका छन् । अनैतिक क्रियाकलाप गर्ने काठमाडौंमा ३ हजार ८ सय ८८ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय (मेट्रो) को तथ्यांकमा उल्लेख छ ।
पक्राउ परेकामध्ये २ हजार ४ सय ६५ जनालाई अभद्र व्यवहार अन्तर्गत मुद्धा दर्ता गरिएको मेट्रोका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
ललितपुरमा ३ सय ७२ जना पक्राउ परेकामध्ये २ सय ४४ जनालाई मुद्धा दर्ता गरिएको छ । भक्तपुरमा २ सय १२ जना पक्राउ परेकामध्ये १ सय ३१ जनालाई मुद्धा दर्ता गरिएको प्रवक्ता ज्ञवालीले बताए ।