
बलेवा – किसानले उत्पादन गरेको दूध बजार पुर्याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ ।
दूध बिक्रीका आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यविधि कार्यान्वयनमा ल्याउन नसक्दा कार्यक्रम प्रभावित भएको हो ।
गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्नका लागि ‘दूधमा आत्मनिर्भर गाउँपालिका’ बनाउने कार्यक्रम बनाएको थियो । जसअन्तर्गत किसान समूह गठन, घाँस विकास कार्यक्रम र थप केही कार्यक्रम सम्पन्न भएपनि पाडापाडी प्रोत्साहन कार्यक्रमको बजेट नै फ्रिज भएको हो ।
‘महिनामा कम्तीमा ३० लिटर दूध बेच्ने किसानले मात्रै पाडापाडी प्रोत्साहन रकम पाउने कार्यविधि बनाएका थियौं,’ कृषि शाखा प्रमुख होमबहादुर थापाले भने, ‘किसानको दूध बजार नै पुर्याउन नसक्दा रकम फ्रिज भयो ।’ कार्यक्रमका लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।
तत्कालका लागि ताराखोला–२ का ४ गाउँमा समूह बनाएर दूध उत्पादनको काम थालिएको थियो । दैनिक १०० लिटर दूध उत्पादन हुने प्रारम्भिक अनुमान गरेको कृषि शाखाले र समूहले दूधको बजार खोजी गरेका थिए । स्थानीयस्तरमा दूधको बजार नरहेको, बाहिरी बजारमा पुर्याउन दूधको मूल्य बढी पर्ने भएकाले किसान समस्या परेका छन् ।
‘हिउँद वर्षा बाह्रै महिना चल्नेगरी सडक बनेको छैन,’ थापाले भने, ‘हामीले धेरै प्रयास गर्दा पनि ठूलो बजार क्षेत्रमा दूधको कारोबार गर्ने सहकारीले हाम्रो दूध लिन मान्नु भएन ।’
ताराखोलादेखि बागलुङ बजारमा दूध पुर्याउँदापर्ने मूल्यभन्दा पोखरा लगायतका ठूला शहरबाट बागलुङ पुग्ने दूधको मूल्य कम हुने भएकाले पनि सहकारीले दूध लिन नमानेको थापाले बताए । गाउँमा भैंसीको संख्या वृद्धि गर्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम ल्याएको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘बजार अभावका कारण अहिलेको कार्यविधिअनुसार पाडापाडी संरक्षणका लागि प्रोत्साहन रकम वितरण गर्न सकेनौं,’ अध्यक्ष घर्तीले भने, ‘अब कार्यविधिमा थप छलफल गरेर भएपनि यो कार्यक्रमलाई यस वर्ष निरन्तरता दिन्छौं ।’
गाउँका किसान एउटै भैंसीको दूधमा रमाउने परिपाटीको विकास भएपछि भैंसीको संख्या बढाउनकै लागि पाडापाडी प्रोत्साहन कार्यक्रम ल्याइएको थियो । गाउँमा पाडापाडी हुर्काउँदा दूध कम हुने भएकाले जन्मेका पाडापाडी तत्कालै फाल्ने चलन रहेको छ । पाडापाडीलाई संरक्षण गर्ने र हुर्काउने नगर्दा भैंसीको संख्या घट्दै गएको र मूल्यसमेत बढ्दै गएको गाउँपालिकाले जनाएको छ ।
‘गाउँमा पाडापाडी हुर्काउनै छोडे, भैंसीको संख्या घट्दो हुँदा मूल्य बढेको बढ्यै छ,’ अध्यक्ष घर्तीले भने, ‘भैंसीको संख्या बढाउने र किसानलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो ।’ ताराखोला क्षेत्रमा पालिने लिमे पाराकोटी जातका भैंसीबाट राम्रो दूध उत्पादन लिन सकिने भएपनि स्थानीय किसान पाडापाडीपालनमा अग्रसर नभएकाले प्रोत्साहनको कार्यक्रम ल्याइएको घर्तीले बताए ।
‘दूध बिक्रीका लागि विकल्पको खोजी गरेरै भएपनि हामी पशुपालनलाई आयआर्जनसँग जोड्छौं,’ उनले भने, ‘अहिले कार्यविधि बनाउने एकथरि र कार्यान्वयन गर्ने अर्कोथरि भएका कारण किसानले पाउने सहायता गुम्यो ।’
गाउँपालिकाले कार्यक्रम घोषण गर्दा उत्साहित भएका किसान कार्यक्रम फ्रिज भएको सुन्दा निराश बनेका छन् । भकारो सुधार र समूहमा आधारित भैंसी संरक्षणको थालनी भएकामा भने किसान उत्साहित छन् ।