२१ असार २०८३, आइतबार

गल्ती गर्ने ठेकेदार, दोष पाउने सरकार !

गल्ती गर्ने ठेकेदार, दोष पाउने सरकार !

काठमाडौँ - प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले निर्माण व्यवसायीको लापरवाहीका कारण सरकारले दोष खानुपरेको बताएका छन् ।

सञ्चारकेन्द्र नेपालले आज आयोजना गरेको 'पूर्वाधार निर्माणका चुनौती र अव लिनुपर्ने बाटो' विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्माण व्यवसायी सरकारका प्रतिनिधि भएकाले जिम्मेवारी लिएर काम गर्नुपर्नेमा त्यसो नगर्दा दोषजति सरकारलाई आउने गरेको बताए ।

भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको बताउँदै उनले निर्माणका क्षेत्रमा देखिएका विविध समस्यालाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वाधार सदस्य डा केपी ओलीले मुलुकमा ठूला राजनीतिक परिवर्तन भए पनि सोचमा परिवर्तन हुन नसक्दा पूर्वाधार निर्माणका क्रियाकलाप प्रभावकारी हुन नसकेको बताए । उनले मुलुकमा हाल २१ वटा राष्ट्रिय गौरवका आयोजना निर्माणधीन अवस्थामा रहेकाले यस्ता आयोजना चाँडै सम्पन्न भएमात्र मुलुकले भौतिक पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्नसक्ने बताए ।

पूर्वसचिव सुरेश प्रधानले मुलुक सङ्घीयतामा गई तीन तहको सरकार बनेका कारण कसले के काम गर्ने भन्ने अन्योल रहेकाले भौतिक पूर्वाधार निर्माणमा असर परेको बताए ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईं, निर्माण व्यवसायी महासङ्घका महासचिव टङ्क चौलागाईं, सोसाइटी अफ कन्सल्टिङ आर्चिटेक्चर एण्ड इञ्जिनीयरिङ फर्म नेपालका सचिव इञ्जिनीयर कृष्णप्रसाद सापकोटालगायतले निर्माण व्यवसायीले भोग्नुपरेको समस्या बारेमा चर्चा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्