
बागलुङ – निर्वाचन आयोगले मंसिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ ।
बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको १ प्रदेशसभा र १ वडाध्यक्ष गरी २ स्थानमा उपनिर्वाचन हुँदैछ ।
गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नम्बर–२ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।
निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले बताए ।
प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नम्बर २ को ‘ख’मा गत निर्वाचनमा ३३ हजार २४० मतदाता सहभागी थिए । यस पटक ३६ हजार ५०० मतदाताको नामावली संकलन भएको छ । वडातर्फ बडीगाढ गाउँपालिका–२ मा गत निर्वाचनमा १ हजार ७७० मतदाता थिए । यस पटक १ हजार ८०२ जनाको मतदाता नामावली संकलन भएको निर्वाचन अधिकृत पौडेलले बताए ।
‘अहिले प्रदेशसभा सदस्य र वडाध्यक्षका लागि २ ठाउँमा निर्वाचन गराउनुपर्ने भएको छ,’ पौडेलले भने, ‘रिक्त रहेको प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र नम्बर–२ को ‘ख’ र १ वडा अध्यक्षमा निर्वाचन गर्ने तयारी थालिएको हो ।’ पौडेलका अनुसार अहिले तथ्यांक प्रशोधनकै क्रममा रहेकाले मतदाता संख्यामा केही तलमाथि हुनसक्ने छ ।
प्रदेशसभा सदस्यअन्र्तगत क्षेत्र नं–२ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका–२ मा चार गरी ४६ मतदानस्थल रहेको पौडेलले जानकारी दिए । निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ ।
प्रदेशसभा सदस्य क्षेत्री राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुषाल तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जितेको हो । जण्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा गत वर्ष मंसिर २६ मा निधन भएको थियो ।