
काठमाडौं – मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।
‘उक्त प्रणालीको प्रभावले आगामी ३ दिन देशभर मनसुन सक्रिय हुने अवस्था रहेको छैन,’ मौसमविद् बासीले भने, ‘यो अवधिमा वर्षा नै नहुने भन्ने हुँदैन, अहिले मनसुनको समय हो, ‘आइसोलेटेड’ वर्षा हुनसक्छ । कुनै खास क्षेत्रमा अन्य क्षेत्रमा भन्दा पृथक रुपमा वर्षा हुनसक्छ तर त्यसलाई मनसुन पूर्ण सक्रिय भएको भन्न मिल्दैन ।’
मौसमविद्का अनुसार न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर –प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतवार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमवार देशको धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, पूर्वी र मध्यका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।