
काठमाडौँ - भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु-कश्मीरको विशेष अधिकार खोसेको चौथो दिनमा कश्मीरका जनता सडकमा आएका छन् ।
भारतले कश्मीरमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हजारौंको संख्यामा सुरक्षा फौजको तैनाथ गरेको पनि थियो तर विरोध प्रदर्शन हुनबाट रोक्न सकेको छैन ।
शुक्रवार श्रीनगरको सौरामा एउटा ठूलो प्रदर्शन भएको थियो । तर भारत सरकारले उक्त विरोध प्रदर्शन ठूलो नभएको र केही औंलामा गन्न सकिने मान्छेहरू सडकमा निस्केको टिप्पणी गरेको थियो । त्यहाँ प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।
शनिवार पनि कश्मीरमा ठूलै प्रदर्शन भएको थियो । प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए भने सुरक्षा फौजले रोक्ने प्रयास गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रु ग्यास र प्लास्टिकको गोली फायर गरेका छन् ।
कश्मीरमा गत सोमवारदेखि कर्फ्यू लगाइएको छ । तर कर्फ्यूका बीचमा पनि हजारौं जनता सडकमा निस्केका छन् ।
अहिलेसम्म प्रदर्शनका क्रममा भएको झडपमा के कतिको धनजनको क्षति भयो औपचारिक जानकारी आएको छैन ।