काठमाडौं – चीनमा लेकिमा आँधी आएपछि कम्तीमा २८ जनाको मृत्यु भएको अनि दश लाखभन्दा बढी मानिसले थातथलो छोडेर जान बाध्य हुनुपरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
अधिकारीहरूले आँधीपछि आएको पहिरोका कारण २८ जनाको मृत्यु भएको बताएका छन् । दशजना मानिस हराइरहेको बताइएको छ ।
लेकिमा आँधी शनिवार बिहान ताइवान र चीनको आर्थिक राजधानी शांघाईको बीचमा रहेको वेनलिङमा आइपुगेको थियो ।
आँधी जमीनमा आइपुगेपछि वेन्चोमा पहिरो आएको सरकारी मिडियाले बतायो । भारी वर्षाका कारण बनेको प्राकृतिक बाँध भत्किएपछि पहिरो गएको थियो ।
आपतकालीन टोलीहरूले बाढीका कारण फसेका गाडीचालकहरूलाई बचाउन संघर्ष गर्नुपरेको थियो । उनीहरूले क्षतिग्रस्त भवनको भग्नावशेषबाट जीवित मानिसको खोजी गरेका थिए । आँधीका कारण धेरै रुख ढलेका छन् भने विद्युत् आपूर्ति ठप्प भएको छ ।
अधिकारीहरूले एक हजारभन्दा बढी उडान रद्द गरेका छन् र ट्रेन सेवा पनि रद्द गरेका छन् । शांघाईको डिज्नील्यान्ड पनि दिनभरिका लागि बन्द गरिएको छ ।
आँधी शांघाई शहर आइपुग्दा कमजोर हुँदै जाने तर यसले खतरनाक बाढीको जोखिम ल्याउने सम्भावना छ ।
बीबीसीबाट