
काठमाडौं – संघीय संसद प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबीच चर्काचर्की परेको छ ।
आइतवार बसेको बैठकमा समिति सदस्य छक्कबहादुर लामा र विजय सुब्बाले विभिन्न जातजाति र क्षेत्रमा अहिले पनि बहुपति प्रथा रहेकाले कानून बनाउँदा जातीय परम्पराको ख्याल हेरिनुपर्ने धारणा राखेपछि बैठक बहुपति, बहुपत्नी र विद्यमान कानुनी व्यवस्थाको चर्को बहसमा प्रवेश गरेको थियो ।
समितिका सदस्यहरू यशोधा गुरुङ सुवेदी, रेखा शर्मा लगायतले बहुपतिप्रथालाई अस्वीकार गर्दै विद्यमान कानूनअनुसार नै अघि बढ्नुपर्ने तर्क गरेका थिए । घटना दर्ताको विषयमाथिको छलफलका क्रममा बहुपति परम्पराको विषयले प्रवेश पाएको थियो ।
समिति सदस्य विजय सुब्बाले हिन्दू विधिशास्त्रअनुसार बनेको संविधान भएकाले यसले अन्य जातिका धर्म, संस्कृति र परम्परालाई समेट्न नसकेको आरोप लगाए । सदस्य सुवेदीले फौजदारी संहिताले बहुविवाहलाई अपराध मानी बदरको समेत व्यवस्था गरेकाले फेरि मान्यता दिनुपर्ने भनेर प्रश्न उठाउन नमिल्ने तर्क गरिन् ।
सदस्य शर्माले कानुन र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानुनलाई विस्थापित गर्न नहुने बताइन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको व्यवस्था गर्न बनेको विधेयकको दफा १९ मा उल्लेखित व्यक्तिगत घटनाको सूचना दर्ता प्रक्रिया सम्बन्धमा ‘ख ’मा व्यवस्था गरिएको ‘विवाहको सूचना पतिपत्नी दुवैले दिनुपर्ने’ व्यवस्थामाथिको छलफलका क्रममा राज्यव्यवस्था समितिमा प्रवेश पाएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।