
काठमाडौं – सिड्नीको मध्यभागमा मंगलवार एक व्यक्तिले हातमा छुरी बोकेर अल्लाहु अकबर चिच्याउँदै ताण्डव मच्चाएका छन् ।
ती व्यक्तिले २१ वर्षीया एक महिलालाई मारेको बताइएको छ अनि नजिकैको पबमा अर्का एकजनालाई छुरा हानेको पनि खबर छ ।
मृत महिलालाई क्लारेन्स स्ट्रीट अपार्टमेन्टभित्र फेला पारिएको थियो । उनको घाँटी काटिएको थियो ।
चक्कु बोकेका मानिसलाई बहादुर मानिसहरूले दिउँसो २ बजेतिर कुर्सी र दूधको क्रेटले हिर्काएर नियन्त्रणमा लिन खोजेका थिए । वाइनयार्ड स्ट्रीटमा उनले अनेकौं व्यक्तिलाई चक्कु हान्न खोज्दा नियन्त्रणमा लिइएको थियो ।
मर्ट ने नामक ती व्यक्ति सिड्नीको पश्चिममा रहेको ब्ल्याकटाउनमा बस्छन् । उनी मानसिक अस्पतालबाट भागेका हुन् कि भनी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो आतंकवादसँग सम्बन्धित घटना नभएको प्रहरीको विश्वास छ । उनले अल्लाहु अकबर भनेर चिच्याएको भए पनि उनको कुनै आतंकवादी संगठनसँग सम्पर्क नरहेको प्रहरीको विश्वास छ ।
तर न्यु साउथ वेल्सका प्रहरी कमिस्नर मिक फुलरले उक्त व्यक्तिका विषयमा सूचना प्राप्त गरेको र उसको पेनड्राइभमा आतंकवादसँग सम्बन्धित केही विचारधारा पाइएको बताए ।
पेनड्राइभको सामग्रीमा न्युजील्यान्डमा तथा अमेरिकामा भएको आक्रमणलाई पनि सन्दर्भ बनाइएको बताइएको छ ।
आक्रमणकारीले आफ्नै सुरमा यो अपराध गरेको विश्वास गरिएको छ । उनलाई आजै साँझ अभियोग लगाइने अपेक्षा छ ।
आक्रमणमा मारिएकी महिला यौनकर्मी भएको विश्वास गरिएको छ ।
एजेन्सी