
काठमाडौं – भारतका अन्य भागमा बस्ने कश्मीरीहरूले जम्मु–कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णयले भारतको साथ दिने मानिसलाई धक्का लाग्ने विचार व्यक्त गरेका छन् ।
भारतसँग जोडिने पक्षमा रहेका कश्मीरीहरू पनि यस निर्णयका कारण पृथक्तावादीसँग लाग्ने उनीहरूको मान्यता छ । अरू मानिस चाहिँ आफ्नो गौरवका रूपमा रहेको कश्मीरीयत खोसिएको बताउँछन् ।
दक्षिण बेंगलुरुमा बसेका वा व्यापारको सिलसिलामा त्यहाँ पुगेका कश्मीरी व्यवसायी र विद्यार्थीहरूबीच छटपटी छ किनकि विगत केही दिनदेखि उनीहरूले परिवारसँग कुराकानी गर्न पाएका थिएनन् ।
घरमा परिवारका सदस्य बिरामी भएकाहरू बढी चिन्तित छन् किनकि टेलिफोनले काम गरिरहेको छैन ।
कर्पोरेट वकिल साजिद निसारले बीबीसी हिन्दीलाई बताए, ‘मेरा पिता बिरामी हुनुहुन्छ । त्यसैले म केही कुरामा पनि ध्यान केन्द्रित गर्न सकिरहेको छैन । उहाँको हालत के होला भनेर पनि थाहा पाउन सकेको छैन ।’
धारा ३७० खारेजीको घोषणापछि भारतमा विश्वास गर्ने, मूलधारको राजनीतिमा रहेका र चुनाव समेत लडिसकेका मानिस पनि स्तब्ध छन् ।
साजिद निसार जस्ता अन्य कश्मीरीहरूका मातापिताको स्वास्थ्य ठीक छैन । परिवार संकटमा त छैन भनी हरेकलाई चिन्ता छ ।
बेंगलुरुमा आईटी प्रोफेसनल शाहिद अन्सारी स्टार्ट अप्सलाई सहायता गर्छन् । उनी भन्छन्, ‘भारतमा विश्वास गर्ने, मूलधारको राजनीति गर्ने र चुनाव लड्नेहरूमा भारतप्रतिको विश्वास टुटेको छ ।’
अन्सारीले नेसनल कन्फेरेन्स तथा पीपुल्स डेमोक्रेटिक पार्टी जस्ता दलप्रति इशारा गरेका हुन् । ती दलले दशकौंदेखि पृथक्तावादीहरूलाई कुनामा पारेका थिए । महबूबा मुफ्ती र उमर अब्दुल्ला पक्राउ पर्दा कश्मीरीहरूलाई झड्का लागेको छ ।
उनी भन्छन्, ‘उनीहरूलाई मूलधारको पार्टी भनिन्छ किनकि उनीहरू त्यहाँ भारतीयका रूपमा उभिएका थिए । उदाहरणका लागि, नेसनल कन्फेरेन्सले पृथक्तावादीहरूसँगको लडाईंमा २५ देखि ३० हजार कार्यकर्ता गुमाउनुपरेको छ । आज उनीहरूको दायरा पूरै खुम्चिएको छ । ती कार्यकर्ता अब केही दिनमै पृथक्तावादीहरूको पक्षमा हुनेछन् ।’
श्रीनगरबाट आएका एक व्यापारी अब्दुल हुसैन सईद भन्छन्, ‘भारतका लागि आवाज उठाउने मानिसको पनि आवाज दबाइएको कुरा मैले बुझेको छैन । पूर्व मुख्यमन्त्रीहरूलाई जेल हालेर भारतमाथि विश्वास नगर भन्ने सन्देश दिइएको छ । यस्तो कारवाहीले भारतप्रति घृणा बढाउँछ ।’
एक वकिलले नाम नछाप्ने शर्तमा भने, ‘बेंगलुरुमा बसेका कश्मीरीहरू परिवारको हालतका बारेमा चिन्तित छन्, त्यसैले कश्मीर जान चाहन्छन् । उनीहरूलाई यहाँ बस्न पनि डर छ । उनीहरूलाई भविष्य खतरामा नपार भनी हामीले सम्झाउने कोशिश गरेका छौं । अनि मिडियासँग कुराकानी नगर्न पनि हामीले सुझाव दियौं ।’
कश्मीरको व्यापारी महासंघका हकीम वसीम भन्छन्, ‘कश्मीरीहरू अलगथलग भएको अनुभव गरिरहेका छन् । कश्मीरीहरूका लागि कश्मीरीयत गौरवको कुरा हो । हामीबाट कश्मीरी पहिचान खोसिएको छ र हामी आफ्नो पहिचानका लागि भावुक छौं ।’
तर ३५क अन्त्य गर्दा कश्मीरमा लगानी आकर्षित हुन्छ अनि जम्मु–कश्मीरमा आर्थिक समृद्धि हासिल हुन्छ त ?
अन्सारी भन्छन्, ‘हजारौंको संख्यामा सुरक्षाबल तैनाथ गरिएको ठाउँमा कसैले पनि लगानी गर्दा सुरक्षित अनुभव गर्छ जस्तो लाग्दैन ।’
बीबीसी हिन्दीबाट