२२ जेठ २०८३, शुक्रबार

ओली–प्रचण्ड छलफलमा बादलको ‘इन्ट्री’

ओली–प्रचण्ड छलफलमा बादलको ‘इन्ट्री’
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहानैदेखि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली छलफलमा व्यस्त छन् ।

छलफलमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ पनि सहभागी रहेको बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले बताए ।

‘बिहान ९ बजेदेखि छलफल चलिरहेको छ,’ पथिकले भने, ‘स्कूल विभाग लगायत समग्र कार्यविभाजनको टुंगो लगाउने गरी छलफल भइरहेको छ ।’ 

पथिकले बिहीवार दिउँसो ३ बजे बस्ने सचिवालय बैठक स्थगित नहुने सम्भावना रहेको जानकारी दिए । २ अध्यक्षको बैठकमा बादल पनि सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ । 

स्कूल विभागको नेतृत्वमा साविकको एमाले र माओवादी दुवै पक्षको दाबी परेपछि एकता प्रक्रिया लम्बिएको थियो । पूर्व एमाले तर्फबाट ईश्वर पोखरेलले आफ्नो दाबी छाडेका छैनन् भने पूर्व माओवादी पक्षबाट प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पनि आफ्नो दाबी पेश गर्दै आइरहेका छन् । 

यसअघि पटक–पटक बसेको सचिवालय बैठकले विभाग र अन्य कार्यविभाजन सम्बन्धी कुनै विषयमा टुंगो लगाउन सकेको थिएन । प्रधानमन्त्री गत सोमवार सिंगापुर भ्रमणबाट फर्केको भोलिपल्ट सचिवालय बैठक डाकिएको थियो ।

सहमति नभएको भन्दै बुधवार डाकिएको बैठक पनि स्थगित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्