०२ असार २०८३, मंगलबार

महिनावारी र सुत्केरीले खान पाउँदैनन् दूधदही

महिनावारी र सुत्केरीले खान पाउँदैनन् दूधदही

बाजुरा – जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ ।

सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ ।

बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्छिन्, ‘बाजुराका ग्रामीण भेगमा भने दूधदही लगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागतरुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ ।’

सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुँदा गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाए । जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरेता पनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताए ।

उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैंसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ । दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको बडिमालिका–३ रजालीका जुना रोकायाले बताए ।

जसले गर्दा व्यावसायिक प्रणालीको विकास हुनसकेको छैन । जबसम्म मान्छे व्यावसायिक हुँदैन, तबसम्म उसको आयआर्जनमा वृद्धि हुन सक्दैन भन्ने उनको ठम्याइ छ । 

गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भनिन्, ‘यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।’ जिल्ला अस्पतालका डा. रोहित गिरीले भने महिनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसूस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्