
काठमाडौं – ब्राजिलको रियो द जेनीरोमा ३७ जनालाई बन्धक बनाएर बस हाइज्याक गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ ।
विलियम अगस्टो दा सिल्भा नामक ती व्यक्ति बिहान ५ः२५ मा बन्दूक देखाउँदै बस चढेका थिए । पछि त्यो नक्कली बन्दूक भएको पत्ता लाग्यो ।
मुकुण्डो लगाएका दा सिल्भाले पुलको बीचमा पुगेको गाडीमा आगो लगाउने धम्की दिएका थिए । उनले बन्दूकका साथै चक्कु पनि बोकेका थिए ।
दा सिल्भालाई गाडीबाहिर आएपछि बिहान ९ः०४ मा गोली हानिएको थियो ।
गोली लागेपछि उनको मुटु चल्न छोडेको थियो । उनलाई अस्पताल लगिएको थियो र त्यहाँ उनलाई मृत घोषणा गरियो ।
उनले आफूलाई सैन्य प्रहरी भनी चिनाएका थिए तर उनी खासमा सुरक्षा गार्ड भएको प्रहरीले पत्ता लगाए ।
प्रहरी रिपोर्टका अनुसार, दा सिल्भाले बसचालकलाई रियोसम्म गुडाउन भनेका थिए ।
हाइज्याकको अवधिमा उनले दुई महिला सहित तीन यात्रुलाई बाहिर जान दिएका थिए ।
प्रहरीको एक स्नाइपरले उनलाई गोली हानेर मारेका थिए ।
एजेन्सी