
काठमाडौं – चीनले हङकङमा भइरहेको विरोध प्रदर्शन रोक्नका लागि तीन किसिमको रणनीति अंगीकार गरेको छ : प्रचारबाजी, आर्थिक शक्ति तथा धाकधम्की ।
बेइजिङले प्रदर्शन रोक्नका लागि गरेको प्रयासको चर्चा गरौं ।
संकथन निर्माण
जुन महिनामा विरोध प्रदर्शन हुन थालेपछि चीनभित्र यसको चर्चा गर्न दिइएको थिएन, सामाजिक सञ्जालमा यसको चर्चामा प्रतिबन्ध लगाइएको थियो र सरकारी सञ्चारमाध्यममा यसलाई कुनै महत्त्व दिइएको थिएन ।
तर हङकङमा अव्यवस्था बढ्दै गएपछि बेइजिङले आफ्नो पक्षमा संकथन मोड्नका लागि प्रयास थालेको थियो ।
विरोधकर्ताहरूले दुई चिनियाँ नागरिकलाई जासूसी गरेको भन्दै आक्रमण गरेपछि विमानस्थलमा तनाव छाएको थियो । त्यसपछि बेइजिङले विरोधकर्ताहरूले आतंकवादीको जस्तो क्रियाकलाप गरेको आरोप लगाएको थियो ।
चीनको ‘ग्रेट फायरवाल’ मा फेसबूक र ट्विटरमा प्रतिबन्ध लगाइएको छ र सूचनामा नियन्त्रण राखिने गरेको छ । हङकङमा भइरहेको प्रदर्शनलाई हिंस्रक अनि देश अस्थिर बनाउनका लागि विदेशी लगानी गरेको रूपमा चित्रित गरिँदैछ ।
तर विरोधकर्ताहरूले हङकङमा चीनको प्रभावका विषयमा चिन्ता जनाएको भन्दा पनि उनीहरू निहित स्वार्थ भएका समूहका रूपमा प्रस्तुत गर्नुका पछाडि चिनियाँ जनतालाई खुशी पार्ने मात्र अभीष्ट हैन ।
सोमवार अमेरिकाका ठूला कम्पनीहरू ट्विटर र फेसबूकले चीनमा चलाइएको सामाजिक सञ्जाल अभियानमा जोडिएका अनि हङकङको विरोध प्रदर्शनको वैधतालाई अवमूल्यन गर्ने लगभग एक हजार अकाउन्ट बन्द गरेको जानकारी दिए ।
ट्विटरले थप दुई लाख अकाउन्टबाट कुनै हानि पुग्नुअघि तिनलाई बन्द गरेको बतायो ।
चिनियाँ राजदूतहरूले विश्वका टेलिभिजन नेटवर्कहरूमा विरोधकर्ताहरूको भर्त्सना गरेका छन् ।
पैसाको बल
संसारको दोस्रो सबभन्दा ठूलो अर्थतन्त्रले विरोधप्रतिको समर्थन घटाउनका लागि आर्थिक शक्ति समेत प्रयोग गरेको छ । यसले गर्दा आर्थिक केन्द्रका रूपमा हङकङमा कारोबार समस्यामा परेको छ ।
हङकङको एयरलाइन्स कम्पनस् क्याथे प्यासिफिकका २७ हजार कर्मचारीमध्ये केहीले विरोध जुलुसमा भाग लिएको वा समर्थन गरेको पाइएपछि चीनले कडा आलोचना गरेको थियो ।
चीनको उड्डयन विभागले विरोधको खुला समर्थन गर्ने कर्मचारीहरूलाई चिनियाँ मुख्यभूमि आउने वा चिनियाँ एयरस्पेस हुँदै उड्ने उडानमा काम गर्नबाट रोक्न आदेश दिएको छ ।
क्याथे प्यासिफिकको शेयर मूल्य ह्वात्तै घटेपछि उक्त एयरलाइनका सीईओले अघिल्लो शुक्रवार राजीनामा दिएका थिए ।
चीनको सामाजिक सञ्जालमा क्याथे प्यासिफिकलाई बहिष्कार गरौं भनेर अभियान नै चलाइएको थियो ।
विश्लेषकहरूका अनुसार, यो घटनाले हङकङका संस्थाहरूलाई निकै तर्साएको छ । अधिकांश संस्थाहरूको चीनसँग व्यापारिक सम्पर्क छ ।
ताइवानको एउटा चिया कम्पनी र लोकप्रिय जापानी पेयपदार्थले पनि अन्लाइन क्रोधको सामना गर्नुपरेको छ । अनि हङकङका कथित चार ठूला लेखा संस्थाहरूलाई विरोधका लागि बनाइएको विज्ञापनमा लगानी गर्ने कर्मचारीलाई नरोकेकोमा कारवाही गरिएको छ ।
बेइजिङले हङकङमा रहेका चीनपक्षधर धनाढ्यहरूलाई स्थानीय विचार नियन्त्रण गर्ने प्रयासमा खटाएको छ ।
सयौं चीनपक्षधर व्यापारी र सांसदहरूले खुलापत्र लेखेर क्यारी लाम सरकारको समर्थन गरेका छन् । उक्त खुलापत्र बेइजिङपक्षधर पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।
धाकधम्की
हिंसा चर्किंदै जाँदा चीनको केन्द्र सरकारले दमनको धम्की दिएको छ ।
जुलाई महिनाको अन्त्यमा हङकङमा रहेको जनमुक्ति सेनाको टुकडीले एउटा भिडियो सार्वजनिक गरेर सैनिकहरूले दंगाविरोधी अभ्यास गरिरहेको देखाएको थियो ।
गत साता हजारौं चिनियाँ सैनिकहरूले रातो झण्डा फहराउँदै शेनझेन शहरको एक रंगशालामा परेड गरेका थिए । उक्त शहर हङकङको सीमापारि छ ।
पंक्तिबद्ध सशस्त्र सैनिकहरू उभिएको अनि देशभक्तियुक्त गीत बजेको भिडियो पनि सरकारी सञ्चारमाध्यममा देखिएको थियो ।
सैनिकहरू हङकङ सीमा नजिकै रहेको र कुनै पनि बेलामा परिचालित गरिने सन्देश चीनले दिन खोजेको छ ।
एजेन्सी