३१ जेठ २०८३, आइतबार

स्वास्थ्यमन्त्री भन्छन्, ‘१३ वर्षपछि राजनीति छाड्छु’

कात्तिक २०, २०७४
स्वास्थ्यमन्त्री भन्छन्, ‘१३ वर्षपछि राजनीति छाड्छु’
काठमाडौं, १६ चैत – स्वास्थ्य मन्त्री गगन थापाले १३ वर्षपछि राजनीतिबाट पूर्णरुपमा विश्राम लिने घोषणा गरेका छन् । ललितपुरमा आयोजित युवा सम्मेलनको समापन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै थापाले १३ वर्षपछि राजनीति छाड्ने घोषणा गरेका हुन् ।

हरेक वर्ष आयोजना गरिने राष्ट्रिय युवा सम्मेलन ललितपुरमा बुधबार सकिएको हो । दीगो विकास लक्ष्यबारे छलफल गर्न नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरस्थित स्टाफ कलेजमा राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजना गरेको हो । सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए ।

सम्मेलनमा दीगो विकास लक्ष्यमा युवाको भूमिका, बदलिँदो राजनीतिक परिवेश, संघीय संरचनामा युवाको अवसर र भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, वातावरण न्याय र दीगोपन, महिला नेतृत्व र राजनीतिक संलग्नता, नागरिकतालगायतका विषयमा छलफल भएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने बताए । ‘हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हाँक्न सक्दैनौं,’ उनले भने, ‘नयाँ पुस्ताले पक्कै पनि नेतृत्व लिन्छ ।’

थापाले आफू पनि अबको १३ वर्षमात्रै सक्रिय राजनीति गर्ने बताए । ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्छु,’ उनले भने, ‘त्यसपछि मैले बिश्राम लिने हो ।’
सम्मेलनलाई राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, राष्ट्रिय युवा परिषदका सदस्य भावना भट्ट, यूएनडीपीका राष्ट्रिय निर्देशक रेनड मेयेरलगायतले सम्बोधन गरेका थिए । एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता विश्वप्रकाश शर्मा पनि सम्मेलनको छलफल सत्रमा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्