२१ असार २०८३, आइतबार

पार्टी एकीकरणबारे राजपामा दुई धार

भदौ १३, २०७६
पार्टी एकीकरणबारे राजपामा दुई धार

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समाजवादी पार्टीसँग एकता गर्ने वा पार्टीको महाधिवेशन गर्ने भन्ने कार्यसूचीमा छलफल गर्नका लागि बोलाइएको राजनीतिक समितिको बैठक स्थगित गरेको छ । 
राजपा नेपालको अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवासमा बिहीबार बसेको अध्यक्षमण्डलको बैठकले राजनीतिक समितिको बैठक स्थगित गर्ने निर्णय गरेको हो । समाजवादी पार्टीसँग एकीकरण तथा महाधिवेशनका लागि छलफल गर्न शुक्रबार राजनीतिक समितिको बैठक बोलाइएको थियो । 
अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बैठक बोलाउँदा पार्टीमा विवाद भएको थियो । सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै पार्टीभित्र विभिन्न आरोप–प्रत्यारोप सुरु भएपछि सहमतिका आधारमा एक दिनका लागि बैठक स्थगित गरिएको पार्टीका सचिव सञ्जय यादवले जानकारी दिए । 
शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजनीतिक समितिको कार्यसूचीबारे छलफल गर्ने अनि शनिबार बैठक बस्ने छलफल भएको उनले जानकारी दिए । समाजवादी पार्टीसँगको एकीकरण कार्यसूची लामो समयदेखि अनौपचारिक वार्ता भए पनि हालसम्म कुनै निष्कर्ष निस्केको छैन । समाजवादी पार्टीसँग एकीकरण गर्नेबारे स्पष्ट पार्नका लागि राजनीतिक समितिको बैठक बोलाइएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताए । गाेरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्