२६ असार २०८३, शुक्रबार

चीनका लागि टाउकोदुखाइ बनेका जोशुआ पक्राउ

चीनका लागि टाउकोदुखाइ बनेका जोशुआ पक्राउ

काठमाडौं – हङकङ विरोध प्रदर्शनमा सक्रिय रहेका अभियन्ता जोशुआ वाङलाई चीनले पक्राउ गरेको छ । 

सन् १९९६ मा जन्मेका जोशुआ हङकङमा लोकतन्त्र समर्थकका पोस्टर बोय बनेका छन् । शुक्रवार जोशुआसहित तीन अभियन्तालाई पक्राउ गरिएको हो । सप्ताहान्तमा आन्दोलनकारीहरूले विरोध प्रदर्शन चर्काउने आशंकाका कारण यो पक्राउ गरिएको हो । 

चीनको शासनमा आएपछि पहिलोपटक हङकङमा यति लामो समयसम्म विरोध प्रदर्शन चलेको हो । जोशुआले आन्दोलनमा एक किसिमको नेतृत्व गरिरहेका छन् र हङकङलाई थप स्वायत्त बनाउनुपर्ने उनको मागलाई विशाल समर्थन प्राप्त भएको छ । 

सन् २०१४ मा भएको आन्दोलनमा पनि जोशुआले नेतृत्व गरेका थिए । जुन महिनामा मात्र जोशुआलाई पाँच हप्ता कैद गरेर रिहा गरिएको थियो । उनलाई अदालतको अवहेलनाको आरोपमा जेल पठाइएको थियो । 

हङकङमा विरोध प्रदर्शन गरिरहेको दल डेमोसिस्टोले आधिकारिक ट्विटर अकाउन्टमा लेख्यो, ‘गल्लीमा अचानक उनलाई एक निजी कारमा धकेल्दै बस्न लगाइयो ।’ उनलाई अहिले प्रहरी प्रधान कार्यालयमा राखिएको छ ।

डेमोसिस्टो पार्टीका सदस्य एग्नेस चाउलाई पनि पक्राउ गरिएको छ । उनीमाथि के आरोप लगाइएको हो भन्ने स्पष्ट छैन । त्यस्तै हङकङ नेसनल पार्टीका संस्थापक एनडी चाङलाई पनि पक्राउ गरिएको छ । उनको दललाई पोहोर साल सेप्टेम्बर महिनामा प्रतिबन्ध लगाइएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्