
काठमाडौं–सामूहिक गौहत्या गर्ने कार्यमा संलग्नमाथि कारबाही गर्न विभिन्न राजनीतिक दल, सरोकारवाला र जनस्तरबाट माग भएको छ ।
बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट दैलेख लगिँदै गरिएको २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा शुक्रबार मृत भेटिएका थिए । कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन् । उनीहरूले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिए ।
छाडा पशु चौपायाको व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गरेका कारण पनि यो घटना हुन पुगेको बताइएको छ ।
गाई र गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रावलले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको जानकारी दिए । “गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरूलाई बाँड्दै जाने गरी पठाएका थियोँ”, पौडेलले भने ।
आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उनले बताए ।
‘सामूहिक गौहत्या गर्नेलाई कारवाही गरिनुपर्ने’
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सामूहिक गौहत्याको छानबिन गरी कारवाही गर्न माग गरेका छन् । मन्त्री राईले शुक्रबार विज्ञप्ति जारी गरी कानून विपरीत राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।
‘सामूहिक रूपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइरहेको अभिव्यक्ति र आक्रोश एवम् सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही हुन अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै नेपाली काँग्रेस र राप्रपाले पनि छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
कोलकाता बन्दरगाहमा नेपालको गोदाम
भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ ।
सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको खर्च घट्नेछ भने पारवहन सहजीकरणमा सहयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइने मालसामान सीएफएसबाटै कन्टेनरमा राखेर गन्तव्यतर्फ पठाउन सहज हुनेछ । सीएफएसमा एकै पटक २५० कन्टेनर राख्न सकिनेछ ।
कोलकातामा बिहीबार आयोजित एक कार्यक्रममा नवनिर्मित सीएफएसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउने वर्तमान सरकारको प्रमुख कार्यसूची भएको बताए । उनले समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पारवहन सञ्जालको अधिक महत्व रहेको बताए ।
देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी
नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले शुक्रबार आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फरार अपराधीबाट रु १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी रहेको बताए ।
कार्यक्रममा सर्वाेच्च अदालतका रजिस्टार निर्मल ध्वज निरौलाले देशमा हाल फैसला कार्यान्वयनको पाटो सबैभन्दा जटिल अवस्थामा रहेको बताउँदै अदालतले अपराधी ठहर गरेको मानिस हाम्रै समाजमा खुल्लम खुल्ला हिँड्दा कानूनी राज्यको खिल्ली उडेको बताए ।
काङ्ग्रेस छोडेका वडासदस्यको पद रिक्त
नेपाली काङ्ग्रेसले पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित वडा सदस्य लक्ष्मी मेहता अन्य पार्टीमा प्रवेश गरेपछि उक्त वडा सदस्य पद रिक्त गर्नका लागि आवश्यक प्रक्रिया थालेको छ ।
काङ्ग्रेसका तर्फबाट गत निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिका–२ को वडा सदस्य पदमा निर्वाचित वडा सदस्य मेहताले काङ्ग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए र उनको राजीनामा पार्टीले यस अघि नै स्वीकृत गरिसकेको छ ।
निज मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको हुँदा काङ्ग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम उक्त वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेकपाको अन्तरपार्टी निर्देशन जारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा शुक्रबार जारी गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकका निर्णयका आधारमा निर्देशन–२ जारी गरिएको जनाइएको छ ।
निर्देशन–२ मा निर्णयको महत्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।
यसअघि नेकपाले पार्टी एकता सम्पन्न भएपछि केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयका आधारमा अन्तरपार्टी निर्देशन–१, विशेष परिपत्र–१, २, ३ र ४ जारी गरेको थियो । निर्देशन २ मा देशव्यापी रूपमा नेकपाले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ । ‘‘पार्टीले समस्त नेता, कार्यकर्ता एवम् सदस्यलाई जनतासँंग जोड्ने र आम समुदायलाई सरकारद्वारा संञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँंग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने छ ।’’ अध्यक्ष दाहालद्वारा जारी गरिएको निर्देशन–२ मा भनिएको छ ।
निर्देशन–२ मा २२ जनवर्गीय सङ्गठनको एकता, केन्द्रीय सदस्यको कार्यविभाजन, वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय, जिल्ला कमिटीहरूको एकीकरणका सम्बन्धमा, केन्द्रीय सदस्य मनोनयन, अनुशासन पालना र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरिएका निर्णय छन् ।
५० प्रहरी उपरीक्षकको सरुवा
नेपाल प्रहरीले शुक्रबार ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको शुक्रबारको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयका कार्यरत प्रहरी उपरीक्षकको सरुवा भएको जोशीले जानकारी दिए ।
अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार
चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अपहरणमा परेका रौतहटको कटहरिया नगरपालिका–६ घर भई सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा शङ्कर कार्कीको घरमा डेरा बस्ने बच्चा यादवका छोरा ५ वर्षीय शिवम यादवलाई भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी बालकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतको सीतामढी बस्ने शोभित मुखियालाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।
अब भक्तपुरबाट पनि आश्रमको सेवा
सडक, प्रतिक्षालय तथा मठमन्दिरमा बस्दै आएका बेवारिसे, असक्त, असहाय तथा मनोरोगीहरूको उद्धार, पालनपोषण, औषधोपचार गरी परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले झक्तपुर जिल्लाबाट पनि सेवा शुरु गर्न लागेको छ ।
आगामी असोज १ गतेबाट भक्तपुरमा आश्रम स्थापना गरी सेवा शुरु गर्न आवश्यक प्रक्रिया शुरु गरिएको आश्रममका ३ नं प्रदेश संयोजक सुमन वर्ताैलाले जानकारी दिए ।
अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
मनाइयो पितृ सम्मान दिवस
भाद्र कृष्ण औँशीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व शुक्रबार पिताप्रति आदरभाव प्रकट गरी मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिएर मनाइएको छ ।
यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बुबाको मुख हेरेका छन् । बुबा नहुनेले भने विभिन्न पवित्रस्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।
शुक्रबारको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको थियो ।