
काठमाडौं– नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ ।
एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ ।
प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए ।
प्रहरीका अनुसार चिनियाँ नागरिकले नेपाली बैंकिङ प्रणाली ह्याक गरेर एटीएमबाट पैसा लुट्न ९ वटा बैंकलाई माध्यम बनाएको देखिएको छ । तीनवटा बैंकको एटीएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड प्रयोग भएको छ । यसैगरी, ह्याकरले नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग गरेको आशंका छ । चिनियाँ ह्याकरले पैसा झिक्न नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग गरेको पाइएको छ । कार्ड भने प्रभु, एनआईसी एसिया, जनता, ग्लोबल आईएमई, सनराइज बैंकलगायतका बैंकको प्रयोग भएको पाइएको छ ।
चिनियाँ ह्याकरले पाँच घण्टामा १ हजार ५ सय पटकसम्म कार्ड घोटेका छन् । प्रारम्भिक अनुसन्धानमा नबिल कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदिएको थियो । नबिलमा भिसाको प्रोसेसर चल्छ । चिनियाँहरूले घोटेको कार्ड भिसा प्रोसेसरमा जान्छ । भिसाले नेप्सलाई सम्पर्क गर्छ । नेप्सले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ । तर, नेप्स आफैंलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन । भिसा र नेप्स बीचमा बसेर चिनियाँहरूले यस्तो गतिविधि गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । अब यस घटनाबारे विस्तृत अनुसन्धान फरेन्सिक टोलीले गर्नेछ ।राजधानी दैनिकमा खबर छ ।