काठमाडौं – नेपाली बैंकहरूका एटीएममा चिनियाँ ह्याकरले ह्याक गरेर करोडौं रुपैयाँ लगेको घटना हुँदा उता भारतमा चोरहरूको एक समूहले एटीएम मशिन नै उखेलेर लगेका छन् ।
घटना राजस्थानको अलवरमा भएको हो । चोरहरूले एटीएम मशिन उखेलेर लगेपछि छतमा सुतिरहेका सद्दाम नामक व्यक्ति चिच्याउँदै तल आए । पक्राउ पर्ने भयले चोरहरू ३२ लाख भारुले भरिएको एटीएम मशिन छोडेर भागे ।
खुशखेडा क्षेत्रमा रहेको तातारपुर गाउँमा कबाडीको काम गर्ने सद्दाम खानले हिम्मत देखाउँदै मुकुण्डो लगाएका चोरहरूबाट एटीएम मशिन बचाए ।
राति २ बजेतिर चोरहरू आएर र एटीएम उखेले । उनीहरू ४० मिनटपछि फर्किएर आए अनि एटीएम मशिनमा गाडीमा हाल्न ठिक्क परे । त्यसैबेला नजिकैको घरको छतमा सुतिरहेका सद्दाम उठे अनि चिच्याएर चोरहरूलाई तर्साए ।
प्रहरीले मुकुण्डोधारी चोरहरूको पहिचानका लागि अनुसन्धान शुरू गरिसकेको छ । एचडीएफसी बैंकको एटीएममाथि चोरहरूले धावा गरेका थिए ।
सद्दामको आवाज सुनेर गाउँलेहरू पनि उठे । उनीहरू तल आउँदासम्म चोरहरू गाडी चढेर भागिसकेका थिए । राजस्थानमा विगत तीन दिनमा एटीएम उखेलेर लगिएको यो दोस्रो घटना हो ।
एजेन्सी