१२ असार २०८३, शुक्रबार

पर्यावरणलाई पर्यटनसँग जोड्न स्थानीय सरकार सक्रिय

पर्यावरणलाई पर्यटनसँग जोड्न स्थानीय सरकार सक्रिय

मुस्ताङ– हिमालपारिको जिल्ला मुस्ताङको मुख्य प्रवेश मार्गमा रुपमा रहेको घाँसामा पर्यावरणीय विविधतालाई पर्यटकीय रुपमा उपयोग गर्ने प्रयास थालिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रको दोसाँध जस्तै रहेको घाँसालाई पर्यापर्यटन, चरा अवलोकन स्थललगायत रुपमा विकास गर्न लागिएको हो ।

पर्यटकीय नगरी पोखराबाट पर्वत, म्याग्दी हुँदै स्थल मार्गबाट पुगिने घाँसा, म्याग्दी र मुस्ताङको सिमानामा पर्दछ । घाँसा पोखराबाट १६३ तथा मुस्ताङ सदरमुकाम जोमसोमबाट ४० किलोमिटर टाढा पर्छ । मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित यो समुन्द्री सतहदेखि दुई हजार १० मिटरको उचाइमा छ । जैविक विविधताले धनी मुस्ताङमा झण्डै एक हजार २२६ प्रजातिका वनस्पति पाइन्छन् भने ४७४ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तीमध्ये अधिकांश वनस्पति र चराचुरुङ्गी घाँसामा पाइन्छन् ।

विविधताले भरिएको यस ठाउँको पर्यावरणलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ आफूहरू सक्रिय बनेको थासाङ गाउँपालिका–४ का वडाध्यक्ष विशाल शेरचनले बताए। मुस्ताङमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीमध्ये अधिकांश घाँसामा पाइने भएकाले हालै यस स्थललाई चरा अवलोकन केन्द्र (बर्ड वाचिङ सेन्टर)का रुपमा विकास गर्न लागिएको उनले जानकारी दिए।

घाँसा आसपासको क्षेत्रमा रहेको मिश्रित कोणधारी वनस्पति धूपी सल्लो, लालीगुराँसयुक्त जङ्गल, चराचुरुङ्गीका लागि अत्यन्त उपयुक्त मानिन्छ । डाँफे, मुनाल, च्याखुरा, कालिजलगायत जातका साथै हिमाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा यस क्षेत्रमा पाइन्छन् । भौतिक तथा पूर्वाधार साझेदारी कोषअन्तर्गत सांसद प्रेमप्रसाद तुलाचनले छुट्याएको रु १० लाखबाट हालै घाँसामा चरा अवलोकनका लागि पूर्वाधार निर्माण गरिएको छ ।

“मुस्ताङको भ्रमणमा आउने बाह्य पर्यटक विशेषगरी यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा एवम् वनस्पति हेर्न रुचि राख्छन्”, शेरचनले भने, “यहाँका विभिन्न पर्यावरणीय विविधतालाई हामीले पर्यटनसँग जोड्ने योजना बनाएका छौँ ।” पर्यटकलाई चरा अवलोकनका लागि सहज होस् भन्ने उद्देश्यका साथ यहाँस्थित जङ्गलमा बाटो निर्माण गरिएको छ । चरा हेर्न आउने पर्यटक घाँसामा विशेषतः कालिज प्रजातिको चीर र कोक्लाक हेर्न लोभिने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। हिउँदमा बसाइँ सर्ने चराहरू कालीगण्डकी उपत्यका हुँदै आउने भएकाले घाँसा र यस माथिको क्षेत्र चरा पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको उनको भनाइ छ ।

नेपालमा आउने बाहइ पर्यटकमध्ये आठ प्रतिशत चरा हेर्नका लागि आउने गरेको घिमिरेले बताए। “प्रत्येक वर्ष हिउँदमा कालीगण्डकी उपत्यका हुँदै कर्‍याङकुरुङ लगायतका चराका प्रजाति नेपाल भित्रिने गरेका छन्”, उनले भन्नुभयो, “मुस्ताङका चैले, समर लगायतका स्थानमा पुगी चराको गतिविधि नियाँल्नेतर्फ पर्यटकको आकर्षण उत्तिकै बढेको छ ।”

घाँसा र यस आसपासका क्षेत्रमा हिउँ चितुवा, खरायो, घोरल, भालु, नाउर, चरी बाघलगायत जङ्गली जनावर पाइन्छन् भने यार्सागुम्बा, पाँचआँैले, सतुवा, तोरा, चुत्रोलगायत बहुमूल्य जडीबुटीसमेत पाइन्छन् ।

जैविक विविधताका कारण यस क्षेत्रको आफ्नै विशिष्ट महत्व रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसी दाहालले बताए। पर्यावरणीय आकर्षणसँगै पर्यटकको आगमनलाई लक्ष्य गरी स्थानीय युवाको सक्रियतामा पाँच वर्ष अघि शुरु भएको रेन्बो ट्राउट यतिखेर पर्यटकको रोजाइमा परेको छ ।

पर्यटकले घाँसामा समय बिताउँदै माछाको स्वाद लिने गरेका छन् । यहाँ युवाले यसै वषदेखि किवी खेतीसमेत थालेका छन् । सत्तरी परिवार बस्दै आएको घाँसामा पर्यटकलाई लक्ष्य गरी १० सुविधासम्पन्न होटेल सञ्चालन गरिएको छ । चालू आवमा क्यानोनिङस्थलका साथै उद्यान बनाउने तयारी गरिएको वडाध्यक्ष शेरचनले बताए। 
 

घाँसाको पर्यावरणीय विविधतालाई पर्यटनसँग जोड्न सकिने सांसद तुलाचन बताउँछन् । “जैविक विविधतासँगै चराचुरुङ्गी, वन पैदावार, जडीबुटीलगायत कारण  घाँसा र आसपासका क्षेत्रले पर्याप्त पर्यटकीय सम्भावना बोको छ”, उनले भने, “चरा पर्यटनका साथै यहाँको विविधतायुक्त पर्यापर्यटनको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा राखेका छौँ ।” वासुदेव पौडेल र नीरज थकाली , रासस

salt training

कमेन्ट गर्नुहोस्