
काठमाडौं– शनिवार राति काठमाडौंमा भएको एटीएम ह्याकिङ हङकङमा बसेर गरेको आशंका उब्जिएको छ ।
नेपालका अधिकांश डेटा हङकङमा राखिएको र भारत हुँदै नेपालमा आउने इन्टरनेट पनि हङकङबाट नै आउने भएकाले एटीएम ह्याकिङ पनि हङकङबाटै भएको हुनसक्ने सम्भावना प्रबल रहेको नेपाल प्रहरीका एक प्रविधि विज्ञले बताए ।
‘हाम्रा सबैजसो डेटा सिस्टमहरू हङकङमा रहेका छन्, ह्याकरले नेपाल र भारतमा हङकङको सर्भरबाट एटीएम ह्याक गरेको देखिन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।
ह्याकिङ स्पेनबाट भएको चर्चा चलेपनि त्यसमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।
‘स्पेनबाट ह्याक भएको कुरालाई पत्याउन सकिन्न, किनभने डेटा जहाँ छ त्यहीँको सर्भरमा छुने हो, हाम्रा सबैजसो डेटा हङकङमा छन्, भारत हुँदै आउने इन्टरनेट पनि उतैबाट आउने हो, त्यसैले हङकङबाट नै भएको हुनसक्छ ।’
ह्याकिङमा टोरेन्टको पनि प्रयोग भएकाले स्पेनबाट भएको अनुमान लगाइएको हुनसक्ने उनले बताए ।
‘ह्याकरहरूले यु–टोरेन्ट प्रयोग गरेको देखिन्छ, टोरेन्ट स्पेनको हो, त्यसैले पनि त्यहीँबाट ह्याक भएको आशंका गरिएको हुनसक्छ’, उनले भने ।
ह्याकिङमा ‘फेक आईपी’ प्रयोग भएको भन्दै उनले जुनसुकै देशमा बसेर अरू देशको आईपी बनाउन मिल्ने बताए । हङकङमै बसेर पनि स्पेनको आईपी प्रयोग गर्न सकिने उनको भनाइ छ ।
उनको कुरामा आईटी इञ्जिनीयर प्रजिन महर्जन पनि सहमत छन् ।
‘ठूलो डेटा सिस्टम नेपालमा राख्न महङ्गो पर्ने भएकोले प्रायः हङकङ, सिंगापुर तथा भारत लगायतका देशमा राख्ने गरिन्छ,’ उनले भने ।
डेटा नेपालमै राख्न संसदमा पनि माग !
केही दिनअघि साउन २८ गतेको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद भीम रावलले महत्त्वपूर्ण डेटाहरू नेपालमै राख्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।
इम्बोस्ड नम्बर प्लेट, लाइसेन्स र राष्ट्रिय परिचय पत्रको सर्भर नेपालमा राख्न उनको माग थियो ।
नेपालका सूचनाहरू बाहिरिन सक्नेतर्फ इंगित गर्दै उनले आफ्नो देशको व्यक्तिगत सूचनाको सर्भर अन्य देशमा हुनु विडम्बना भएको बताएका थिए ।
के भन्छन् सूचना–प्रविधि विज्ञ ?
विज्ञहरूका अनुसार एटीएम कार्डको पेमेन्ट स्वीच ५/७ वटा निकायहरूमा ‘इन्टर कनेक्ट’ हुन्छ, ती निकायहरूले अनुमति दिएको खण्डमा मात्र ‘ट्रान्जिक्सन’ हुने गर्छ ।
प्रारम्भिक प्राविधिक अनुसन्धानले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम ‘नेप्स’मा अलिकति कमजोरी भएको हुनसक्ने देखिएको नेपाल सरकारका सूचना–प्रविधि विज्ञ अस्गर अलीले बताए ।
‘अहिले टेक्निकल कमिटी गठन भएको छ, ठ्याक्कै कहाँनेर कमी–कमजोरी भयो भन्ने कुरा कमिटीले पत्ता लगाउला,’ उनले भने ।
‘शुक्रवार भएको ह्याकिङमा बैंकको सिस्टम पनि छोएको देखिन्छ, भिसाको सिस्टम पनि छोएको देखिन्छ र नेप्सको सिस्टम पनि छोएको देखिन्छ, उनले थपे, ‘३ वटा निकाय हुँदै पेमेन्ट हुने हो, यहाँ कुनै एकमा ल्याक भएको हुनसक्छ ।’
बैंकका केही डेटा नेपालभित्रकै सर्भरमा रहने भएपनि भिसाको डेटा भने हङकङ लगायत देशमा रहने गरेको उनले बताए ।
‘हरेक नेपालीको खाता कोर बैंकिङ सिस्टमा राखिएको हुन्छ, यो भने बैंकले नेपालभित्रै कतै राखेको हुन्छ,’ अलीले भने, ‘मास्टर कार्ड, भिसा कार्ड भने विश्वव्यापी हो, यसको लागि डेटा सिस्टम महंगो पर्ने भएकाले बाहिरी देशमा रहने गरेको छ ।’
व्यक्तिको बैंक खाताको नभएर कार्डको डेटा मात्र बाहिर रहने उनको भनाइ छ ।
‘यो व्यक्तिको खाता होइन, कार्डको हो,’ उनले भने, ‘त्यसमा यो व्यक्तिको कार्ड हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।’
आइतवार प्रहरीले चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लागत ५ जनालाई सार्वजनिक गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ सोमवार पक्राउ परेका छन् । एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने ३ नेपाली पनि सोमवार पक्राउ परेका छन् ।
उनीहरूले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।
पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरीकी डलर, १ हजार १ सय ९१ चिनियाँ युवान, २ सय ५० यूरो, ५ हजार क्याम्बोडिन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो ।
नकक्ली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १८ थान, कार्ड प्रिन्टर मेसिन १ थान, ल्याप्टप, सामसुङ मोबाइल, र डेटाकार्ड १/१ थान बरामद गरेको थियो ।
नेपाल राष्ट्र बैंकले अहिलेसम्म १ करोड ६७ लाख रुपैयाँ ह्याक गरी चोरी भएको बताएको छ ।
उनीहरू हात्तीसारस्थित होटल मायामनोहर बुटिकका २०१, ६०२ र ६०४ नम्बर कोठामा बसेका थिए ।